८ फागुन, काठमाडौं । नेपालमा देखिने समस्यामध्य एक हो- आफुलाई चाहिएकै समयमा आफ्नो क्षेत्रमा ट्याक्सी नपाउने, पाए पनि मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने । यि प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् । तर अब ट्याक्सीको यस्तो मनपरी लुट हट्ने भएको छ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघले आफ्नै ‘अनलाइन ट्याक्सी बुकिङ’ सेवा सुरु गर्ने भएको छ । निजी क्षेत्रबाट विभिन्न कम्पनीले ट्याक्सीको अनलाइन बुकिङ थालेपछि ब्यवसायी संघ नयाँ प्रविधिको प्रयोगतर्फ आकषिर्त भएको हो ।
संघले तयार पार्ने मोबाइल एप प्रयोगमा आएपछि झण्डै २ हजार ट्याक्सी यसमा आवद्ध हुनेछन् । ट्याक्सीको प्रयोगलाई प्रविधिक र उपभोक्तामैत्री बनाउन एप निर्माण सकेर परीक्षण भइरहेको नेपाल मिटर ट्याक्सी व्यवसायी संघले जनाएको छ। अहिले चाहिएकै समयमा आफ्नो क्षेत्रमा ट्याक्सी नपाउने समस्या हल गर्न यो उपयोगी हुने संघको विश्वास छ ।
थुप्रै ट्याक्सी आवद्ध रहेको व्यवसायीको संघमार्फत नै यो प्रविधिको प्रयोग सुरु भएपछि आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइनमा गएर एपमार्फत बुकिङ गर्न सकिने छ ।
धेरै ट्याक्सीले एकैपटक एपको प्रयोग सुरु गरेमा यात्रुलाई अनलाइनमा बुकिङ अझ सहज हुनेछ । आफ्नो क्षेत्र वरपरका नै ट्याक्सी सहजै अनलाइनबाट सेवका लागि बोलाउन सकिनेछ भने विकल्पहरु पनि प्रशस्त रहनेछ । अहिले अनभर लगायत केही निजी कम्पनीले स्वरोजगार ट्याक्सीको प्रयोग गरेर अनलाइन बुकिङको सेवा दिइरहेका छन् ।
यस्ता एपमार्फत जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् । किनभने बुकिङ गर्दा नै जानेस्थानसम्मको दूरी र भाडा एपमार्फत नै पहिले तपाईंलाई अटोमेटिक जानकारी दिइन्छ ।
संघले एपको सुरुवात गरेपछि झण्डै २ हजार ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । यो सेवा दिन चाहाने ट्याक्सीले आफुलाई यात्रु चाहिएका बेला जीपीएस अन गर्नेछन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु स्मार्टफोनमा देखिने म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा सेवा दिन पुग्छन् र गन्तब्यसम्म पुर्याउनेछन् ।
यस्ता एप डाउनलोड गरेपछि एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर दर्ता गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।
एप खुल्नासाथ आफू रहेको स्थानसहितको नक्सा देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तव्यमा पुग्ने हो, त्यही नक्साअनुसार क्लिक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि हुनेछ । यस्तो एपले यात्रु पुग्नुपर्ने गन्तब्यको लागि सबैभन्दा छोटो रुट र लाग्ने भाडा स्वतः जानकारी दिन्छ ।
त्यसपछि एपमा यात्रु रहेको क्षेत्र वरपर रहेका ट्याक्सीहरु देखाउँछ । आफूबाट सबैभन्दा कम दूरीमा रहेको ट्याक्सीलाई सेवाका लागि अनुरोध गर्न सकिनेछ । ट्याक्सी चालकले यात्रुको ‘रिक्वेष्ट’ स्वीकारेपछि सेवा दिन त्यहीँ आइपुग्नेछ ।
अहिले प्रयोगमा रहेका अनलाइन ट्याक्सीका एपमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ ।
विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा विकास हुँदैछ ।