८ फागुन, काठमाडौं । ८५ देशबाट आएका युवानेता र व्यवसायी, राष्ट्रसंघकै अधिकारी र कूटनीतिज्ञ तथा अन्तरसरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि गरी हजारभन्दा बढी युवा प्रतिनिधि । त्यो बृहत् सम्मेलनमा युवाका तर्फबाट अध्यक्षता गर्दै थिइन्, २७ वर्षीया नेपाली युवती। ‘संयुक्त राष्ट्रसंघको युवा सम्मेलन’ को युवा अध्यक्षका रूपमा उपस्थित थिइन्, ललितपुरमा जन्मे, हुर्केर अमेरिका पुगेकी जोली अमात्य।
‘दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको कार्यान्वयनमा युवाको भूमिका’ विषयमा केन्द्रित सम्मेलनमा युवा अध्यक्षको कुर्सीबाट उनले संसारकै युवाको आवाज बोलिन्। संसारमा एकता र ऐक्यबद्धताको खाँचो भएको टिप्पणी उनले गरिन्। भनिन्, ‘म शान्तिका प्रतीक बुद्धको जन्मभूमिबाट प्रतिनिधित्व गर्छु र मलाई लाग्छ, हामी सबै शान्ति र प्रेमका वाहक हौं। दिगो विकासको लक्ष्य पूरा गर्न संसारभरका युवा एकजुट हुन जरुरी छ।’
बर्सेनि ग्रीष्म र शिशिर ऋतु (अगस्ट र फेब्रुअरी) मा हुने संयुक्त राष्ट्रसंघको युवा सम्मेलन सबैभन्दा ठूलो सम्मेलन हो । फेब्रुअरीमा हुने विन्टर युथ एसेम्ब्लीले संसारभरकै युवानेता, व्यवसायी, संयुक्त राष्ट्रसंघका अधिकारी, कूटनीतिज्ञ र अन्तरसरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई एकै थलोमा भेट गराउँछ। त्यो ठूलो सम्मेलनको अध्यक्षता गर्नु ठूलै जिम्मेवारी वहन गर्नु हो। लामो रेस दौडेपछि मात्र त्यहाँ पुग्ने थोरै मध्येकी एक हुन् जोली ।
पाटनकै सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु सकेर अमेरिका पुगेकी जोली पहिलोपटक सन् २०१३ मा संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी भएकी थिइन् । २०१३ को सम्मेलन सकिएलगत्तै उनले इन्टर्नसिपका लागि संयुक्त राष्ट्रसंघमा आवेदन दिएकी थिइन् । अन्र्तार्वातामा छनोट भएपछि इन्टर्नसिप सुरु गरिन् । २०१३ र २०१४ को समर सेसनमा काम गरेपछि सम्मेलनको तौरतरिका र मर्म बुझिन् । २०१४ मा केही प्यानल सञ्चालन गरेकी थिइन् । २०१५ मा प्रशिक्षक नै बन्न पुगिन् ।
जोली नेपालमा हुँदादेखि नै सामाजिक गतिविधिमा संलग्न थिइन् । सन् २००७ मा ‘भ्वाइस अफ वुमन टपटेन अवार्ड’ जितेकी थिइन् । संयुक्त राष्ट्रसंघअन्तर्गत युएन महिला, वल्र्ड बैंक, हेबी ट्याट फर ह्युमानिटी, एक्सन एड नेपाल आदिमा काम गरेको अनुभव सँगालेर कम समयमै आफूलाई परिपक्व बनाइसकेकी छन् उनले । त्यसैले त २०१५ मा ग्लोबल कनेक्सन फर वुमन फाउन्डेसनले उनलाई ‘योङ ग्लोबल लिडर एचिभमेन्ट’ द्वारा सम्मान गरेको थियो ।