२०८३ भाद्र ३० मंगलबार

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
3.7K
Shares
झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम

६ फागुन, बनियानी(झापा) । झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।

कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अङ्ग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् ।

चैतदेखि सुरु हुने कार्यक्रममा चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ ।

कार्यक्रम सञ्चालनका लागि झापाका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य बीमा समन्वय समितिसमेत गठन भइसकेको छ ।

छिमेकी जिल्ला इलाममा भने कार्यक्रम लागू भइसकेको छ । मेची अञ्चल अस्पताल भद्रपुरले बिहीबार आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बीमा कार्यक्रमबारे जानकारी दिइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij