फागुन, ३ काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भयो । सभाको अध्यक्षता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले गर्नु भएको थियो ।
सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२÷०७३ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा–नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार तत्काल कायम चुक्ता पूँजी रु. २ अर्ब ६ करोडको १२.६३ प्रतिशतले हुने रकम अक्षरेपी २६ करोड २ लाख बराबरको लाभांश समेत पारित गरेको छ ।
साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर) प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जरपश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १० कित्ता शेयर बराबर ६ कित्ता) हकप्रद शेयर जारी गरी बैंकको चुक्ता पु¥याउने लगायतका सम्पूर्ण प्रस्तावहरु सभामा सर्वसम्मतिले पारित भयो ।
सभामा उपस्थित शेयरधनीमध्येबाट १६ जना शेयरधनीहरुले आफ्नो विचार तथा सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
सभाले आर्थिक वर्ष २०७३÷७४ को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागि बेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनः नियुक्त गरेको छ ।
बैंकले मिति २०७३ माघ मसान्तसम्ममा रु. २६ अर्ब ९७ करोड निक्षेप संकलन गरी रु. २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले रु. १९ करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले आगामी बर्षमा थप शाखाहरु खोली पु¥याउने योजना राखेको पनि जानकारी दिएको छ ।