२ फागुन, नेपालगन्ज । नीति कार्यान्वयनमा भएको मनपरीका कारण आफूहरू कर छली गर्न बाध्य भएको यस क्षेत्रका विभिन्न उद्योगी, व्यवसायीहरूले बताएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालगायत राजस्व प्रशासनका वरिष्ठ अधिकारीहरूसमक्ष उनीहरूले सरकारका नीतिहरू कार्यान्वयनमा देखिएको समस्या आंैल्याउँदै यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्ष ०७४/७५ का लागि बजेट तथा राजस्व नीति तर्जुमा गर्न अर्थ मन्त्रालय राजस्व विभागले नेपालगन्जमा आयोजना गरेको क्षेत्रीय स्तरको सुझाव संकलन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भन्नुभयो, “हामी कर तिर्न चाहन्छौं, तर नीति कार्यान्वयनमा मनपरी हुने गरेकाले हामीलाई छल्न बाध्य पारिन्छ ।” कोही पनि उद्योगी व्यवसायी कर चोर बन्न नचाहेको दाबी गरे ।
अध्यक्ष मुरारकाले पटक–पटक अर्थमन्त्री महरा, अर्थसचिव शान्तराज सुवेदी, भन्सार विभागका उपमहानिर्देशक सुमन दाहाललगायतलाई लक्षित गर्दै भन्नुभयो, “अण्डर बिलिङदेखि राजस्व कर्मचारीको व्यवहारमा समस्या छ । १ हजार ७ सयको जुत्ता १७ रुपैयाँमा बिलिङ हुन्छ, व्यापारीले कसरी कर तिर्ने ?”
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सरकारका धेरै निति नियमहरू उद्योग व्यवसाय फस्टाउन बाधक रहेको जनाउँदै यस्तो सुधार हुन नसके आर्थिक विकास नहुने ठोकुवा गर्नुभयो ।
उद्योगपति पशुपति दयाल मिश्रले सरकारका कर्मचारी र कतिपय नीतिले नै कर चोरी गर्न प्रेरित गर्ने गरेको आरोप लगाउनुभयो । बाँकेलगायत विभिन्न जिल्लाबाट सुझाव दिन आएका उद्योगी, व्यवसायीहरूले आर्थिक विकासमा सरकारले उपेक्षित व्यवहार गर्दै आएको भन्दै सच्याउन आग्रह गरेका थिए ।
उद्योगी व्यवसायीको सुझाव सुनेपछि जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले सरकारले उद्योगी व्यवसायीसँग छलफल गरेर अनावश्यक नीति नियम परिवर्तन गर्न खोजेको बताउनुभयो । उहाले कर र राजस्व छल्नेलाई सरकारले कुनै पनि हालतमा नछाड्ने स्पस्ट पार्दै राजस्व छल्नेहरू आर्थिक अपराधी भएको बताउनुभयो ।
यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल र क्षेत्रीयस्तरको बहुउद्देश्यीय सभागृह निर्माणको माग गर्दै मन्त्री महरालाई संघले एक ज्ञापन बुझाएको थियो ।