१ फागुन, सोल । उत्तर कोरियाले आइतबार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
प्रमुख मित्रराष्ट्र जापानका प्रधानमन्त्री शिन्जो आबे अमेरिका भ्रमणमा रहनु हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजै मात्र आयोजित एक पत्रकार सम्मेलनमा जापानलाई शत प्रतिशत पूर्ण सहयोग गर्न आश्वस्त पार्ने प्रयास गरे लगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।
साथै, उत्तर कोरियाको यस क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो ।
स्थानीय समयानुसार आइतबार विहान ७:५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाइ अखाडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
वायुमण्डलमा पाँचसय किलोमिटर जति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन श्रृङ्खला वा मोडेलको थियो भन्ने तत्कालै खुल्न सकेको छैन ।
अहिलेसम्म उत्तर कोरियाले अन्तर–महाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र (इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल–आइसिबिएम)को सफल परीक्षण नगरेको हुँदा आज परीक्षण गरेको आइसिबिएम नै हो कि भन्ने कसै कसैले अडकलबाजी गरेका छन् ।
जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौका पारी जापानलाई तर्साउने नियतवश गरिएको यस परीक्षणको जापान तथा अमेरिका दुबैले आ–आफ्नै प्रकारबाट आलोचना गरेका छन् । एएफपी