म्याग्दी (बेनी), २३ पुस । पहाडी जिल्ला म्याग्दीमा व्यावसायीक सुन्तलाखेती महिलाका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ ।
घरायसी काममा सीमित र परिवारका अन्य सदस्यमा निर्भर रहेका महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तलाखेती विस्तार गरेपछि तीन वर्षयता यहाँका महिलाले रहरलाग्दो आम्दानी गरिरहेका छन् ।
जिल्लामा महिलाको नेतृत्वमा रहेका कृषक समूहले व्यावसायिक सुन्तलाखेती विस्तार गरेर वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।
म्याग्दी भकिम्ली– २ मरेककी एकल महिला जमुना थापाले यसवर्ष साढे ३ लाखको सुन्तला उत्पादन गर्नुभयो । अविवाहित थापाले अधिकांश समय सुन्तलाको बगैँचामै दिन बिताउनुहुन्छ । “आम्दानी हुन थालेपछि काम गर्न पनि जागर लाग्दो रहेछ” थापाले भन्नुभयो – “यसवर्ष सुन्तला बेचेर रु तीन लाख कमाइसके, अझ एक लाख बराबरको सुन्तला बोटमा नै रहेका छन् ।”
त्यसैगरी सोही गाउँकी कर्णकुमारी पुर्जाले पनि बारीबाटै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभयो । करिब २२ घरधुरी रहेको मरेकमा थापा र पुर्जाले सबैभन्दा धेरै सुन्तलाबाट आम्दानी गरेका छन् ।
सामान्य खर्चको जोहो गर्न श्रीमान् तथा छोराछोरीमा निर्भर रहने गरेका महिला सुन्तलाखेती गर्न थालेपछि पुरुषको भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । ‘सुन्तला खेतीले आत्मनिर्भर बनाएको छ, आर्थिक अभावकै कारण आफन्तलाई सापटी माग्नुपरेको छैन’ कृषक थापाले भन्नुभयो ।
उहाँले एकल महिलालाई समाजमा फरक दृष्टिकोण हेर्ने गरिएको अवस्थामा आफ्नो साहारा सुन्तला बनेको बताउनुभयो । सुन्तला विक्री गरेर महिलाले गाउँमै तीन लाखसम्म नगद बुझ्न थालेपछि सुन्तला खेतीप्रति पुरुषको समेत आर्कषण बढेको छ ।
‘एउटा महिला शिक्षत भए परिवार शिक्षित हुन्छ’ भन्ने भनाइलाई यहाँका महिलाले पुष्टी गरेका छन् । महिलाकै मेहनतामा सुन्तलाखेती विस्तार भएको छ’ नवजनज्योति प्राविका प्रधानध्यापक प्रेमबहादुर थापाले भन्नुभयो ।
थापाले सुन्तला बारीको रेखदेख, मलजल, पुराना बोटको उपचार, कृषि कार्यालयसँग परार्मश तथा तालिममा समेत महिलाको सहभागिता रहने गरेको जानकारी दिनुभयो ।
आफ्नी श्रीमतीले समेत सुन्तला बिक्रीबाट वार्षिक रु दुई लाख कमाउने गरेको बताउँदै थापाले महिलाले सुन्तलाबाट आम्दानी गर्न थालेपछि गाउँमा पुरुषले समेत सिको गर्न थालेका छन् भन्नुभयो । भकिम्लीको मरेक र राखु गाउँमा महिला सुन्तला खेतीप्रति आकर्षित भएपछि दुई गाउँबाट यस वर्ष करिब ३३ लाखको सुन्तला पोखरा, काठमाडौँ, बुटवल लगायतका जिल्लामा खपत भएको छ ।
सुन्तला खेतीमा सक्रिय रहेका महिलाले धेरै आम्दानी गर्न थालेपछि गाउँमा रहेको कृषक समूहको नेतृत्वमा समेत पुरुषले दाबी गर्न छाडेका छन् ।
त्यसैगरी राखुकी मनकुमारी पुनको नेतृत्वमा रहेको ओखरबोट सुन्तला कृषक समूहले यसवर्ष रु. २० लाखको सुन्तला गाउँबाटै बिक्री गरेको छ । ‘सुन्तला महिलाको शक्ति बनेको छ । आम्दानीमा पुरुषसँग प्रतिस्पर्धा गर्ने हैसियत महिलाले बनाएका छन्’ समूहकी अध्यक्ष पुनले भन्नुभयो ।
पुनले आफ्नो सुन्तलाबारीबाट करिब रु तीन लाख २० हजार बराबरको आम्दानी गरेको बताउनुभयो । गाउँमा भीमकुमारी घर्ती, जसिकला रोका, लिला पुन र भूमी पुन पुरुषको तुलनामा सुन्तलाबाट बढी आम्दानी गरेका छन् ।
महिलाले आफ्नै प्रयासमा गरेका सुन्तला लगायतका कृषिजन्य खेतीमासमेत पुरुषको सहयोग भनेर महिलाको सक्रियतालाई अपमान गर्ने गरेको समेत उनीहरूको गुनासो छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्यामराज क्षेत्रीले महिलाको सक्रियतामा गरिएको सुन्तलाले राम्रो फल दिएको बताउनुभएको छ ।
‘सुन्तला टिपेपछि अर्को फल टिप्ने बेलासम्म महिलाले रेखदेख गरेको देखियो । तालिममा पनि पुरुषको तुलनामा महिलाको सक्रियता धेरै छ’ क्षेत्रीले भन्नुभयो । उहाँले कृषिजन्य बस्तुको उत्पादन सम्बन्धी तालिममा सहभागी हुन अघिसर्ने गरेका महिलाले कुनै समस्या देखिए तत्कालै फोनबाट जानकारी गराउने र परार्मशका आधारमा उपचार विधिको प्रयोग गर्ने गरेकोसमेत बताउनुभयो ।
सुन्तलाको पकेटक्षेत्र मानिएका जिल्लाका विभिन्न गाउँमा महिलाको सक्रियता बढेपछि उत्पादन वृद्धिका साथै नयाँ बिरुवासमेत धमाधम विस्तार भइरहेका छन् । रासस
रु. १३ करोड भन्दा बढीको सुन्तला उत्पादन
बागलुङ, २३ पुस । जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ ।
जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो ।
सरदर रु. ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताउनुभयो ।
कात्तिक–मङ्सिरमा रु. ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर रु. ६० देखि ७० पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको अधिकृत अधिकारीले बताउनुभयो ।
यसरी बाहिर निकासी भएको दुई हजार ३८० टन सुन्तलाबाट रु नौ करोड ५२ लाख रकम जिल्लामा भित्रिएको छ भने रु चार करोड आठ लाखको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ ।
यो वर्ष जिल्लामा पाँच सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म चार सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो ।
बगैँंचा, रोग, कीराको व्यवस्थापन, प्रविधि, सामग्रीको प्रयोग, उतपादनशील बोटको वृद्धि, अनुकुल मौसम जस्ता कारणले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘यो वर्ष मौसम पनि अनुकुल प¥र्यो, फूल खेल्दा असिना, हावा, हुरी चलेन’ अधिकृत अधिकारीले भन्नुभयो– ‘उत्पादनशील बिरुवा पनि योवर्ष बढे ।’ गत वर्ष चार सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा दुइृ हजार ९९६ मेट्रिक टन सुन्तला फेलेको थियो ।
बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला रु एक सय भन्दा बढीमा बिक्री हुने गरेका छन् ।
सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले सुन्तलाको बोट नै ‘ठेक्का’ मा लिने गरेको बिहुँ गाविसका अगुवा किसान बालानन्द कँडेलले बताउनुभयो । एकै किसानले सुन्तला बिक्रीबाट लाखाँैं रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका दर्जन बढी गाविसलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको ‘पकेट क्षेत्र’को रुपमा घोषणा गरेको छ ।
सबैभन्दा बढी बिहुँ गाविसमा सुन्तलाखेती विस्तार भएको छ । उक्त गाविसमा मात्र १२ हजार भन्दा बढी बोटले फल दिइरहेको कृषक बताउँछन् । वर्षमा रु चार करोड बराबरको सुन्तला बिहुँ गाविसमा मात्र उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले उक्त गाविसलाई ‘सुन्तला गाउँ’को रुपमा घोषणा गर्ने योजना पनि बनाएको छ । रासस