२०८३ साउन ९ शनिबार

धानको नयाँ मूल्य कायम

ई आर्थिक    सोमबार, पौस १८ २०७३
12.3K
Shares
धानको नयाँ मूल्य कायम

धनगढी, १८ पुस । नेपाल खाद्य संस्थानले निर्धारण गरेको धानको खरिद मूल्यभन्दा बजार मूल्य बढी भएपछि संस्थानले पनि धानको खरिद मूल्य वृद्धि गरेको छ ।

नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले स्थानीय बजारमा धानको कारोबार गर्ने व्यापारीले मूल्य वृद्धि गरेपछि संस्थानले पनि साबिकको मूल्य संशोधन गरी वृद्धि गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको प्राथमिक खरिद समितिको बैठकको निर्णयबमोजिम धानको मूल्य बृद्धि गरिएको बताइएको छ । समितिले गत मङ्सिरमा प्रतिक्विन्टल मोटो धानको खरिद मूल्य रु एक हजार नौ सय ५० निर्धारण गरेकामा पछिल्लो पटक बसेको समितिको बैठकले यो मूल्य वृद्धि गरी प्रतिक्विन्टल रु दुई हजार एक सय कायम गरेको पन्तले बताउनुभयो ।

“नयाँ खरिद मूल्य कायम भएको गएको दुई हप्तायता मात्रै ३१ हजार क्विन्टल धान खरिद हुन सकेको छ”, पन्तले भन्नुभयो—“यसअघि तोकिएको मूल्यमा जम्मा चार हजार क्विन्टल मात्र खरिद हुन सकेको थियो ।” यस वर्ष कैलाली जिल्लामा संस्थानको धान खरिद गर्ने कोटा ५० हजार क्विन्टल रहेको छ । संस्थानले गत आवमा ५७ हजार र अघिल्लो आवमा ७०हजार क्विन्टल धान खरिद गरेको थियो । जिल्लाको मोहनपुरका साथै भजनी, जोशीपुर, टीकापुर, नारायणपुर, सत्तीमा संस्थानले काँटा सञ्चालन गरी किसानको धान खरिद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij