१७ माघ, चितवन । भ्यालेन्टाइन डे (प्रेम दिवस)को अवसरमा पर्यटकीय नगरी सौराहामा यस वर्ष पनि फुड फेष्टिबल आयोजना हुने भएको छ ।
‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित आयोजना गर्न लागिएको ११ औं फुड फेस्टिबल आगामी माघ २९ गतेदेखि फागुन चार गतेसम्म चल्नेछ ।
आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त फुड फेस्टिबलमा दर्शक तथा पर्यटकहरुलाई विशेष छुट दिइने आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालले जनाएको छ ।
फुड फेष्टिबलमा विभिन्न नेपाली तथा विदेशी खानाका परिकार सँगै थारु समुदायको परिकार र साँस्कृतिक मनोरञ्जन समेत लिन सकिने आयोजकले जनाएको छ । फेष्टिबलमा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुतिसमेत रहने छ ।
सौराहाको सिसवार खेल मैदानमा आयोजना हुने फेष्टिबलमा प्रेमपत्र लेखन प्रतियोगिता, रेष्टुरेण्टका स्टाफहरुबीच वेटर रेस प्रतियोगिता, रतौली प्रतियोगिता, भजन चुड्का प्रतियोगिता र बालबालिकाहरु बीच बेलुन फुटाउने प्रतियोगिता लगायत गरिने बताईेको छ ।
फेष्टिबल परिसरभित्रको स्टलमा बुक गरे रेष्टुरेन्ट तथा होटलहरुमा १५ प्रतिशत छुट, विभिन्न उपहार सामाग्री खरिदमा ३० प्रतिशतसम्म छुट पाइनेछ भने खानाको गुणस्तर वृद्धि गर्दै सहुलियत दरमा उपलब्ध हुने पनि बताइएको छ ।
फेस्टिबलमा प्राप्त हुने आम्दानीको केही प्रतिशत अपांग तथा बृद्धबृद्धालाई सहयोग, खेल मैदान, क्लब, उज्यालो सौराहा लगायतका कार्यक्रममा खर्च गरिने बताइएको छ ।
फेष्टिबलमा करिब ४० लाख खर्च हुने र ५० लाख बढीको कारोबार हुने आयोजकको अनुमान छ ।