२०८३ साउन १२ मंगलबार

ऋण काढेरै जलविद्युत्मा सेयर लगानी

ई आर्थिक    आइतबार, माघ १६ २०७३
5K
Shares
ऋण काढेरै जलविद्युत्मा सेयर लगानी

सोलुखुम्बु, १६ माघ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाउनुभयो । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताउनुभयो ।

सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताउनुभयो ।

निजी क्षेत्रबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो ८६ मेगावाटको सो आयोजनामा प्रभावित पाँच गाविसका बासिन्दालाई प्रतिकित्ता रु एक सयका दरले कम्तीमा एक सयदेखि बढीमा २०० कित्तासम्म सेयरमा (१० हजारदेखि २० हजारसम्म) लगानी गर्न पाउने गरी माघ १ देखि १४ गतेसम्मको समय दिएर खुल्ला गरिएको थियो ।

सो समयमा प्रभावित गाविसहरु तिङ्ला, सल्यान, पञ्चन, काँगेल र नेचाबेतघारीका बासिन्दाको उत्साहजनक सहभागिता रहेको हाइड्रो भेन्चर प्रालिका प्रशासन अधिकृत सुरज ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलका अनुसार अति प्रभावित पञ्चन गाविसबाट अति विपन्न दुई घर दलितबाहेक सबैले सेयरमा लगानी गरेका छन् । यस्तै अन्य गाविसबाट पनि उत्साहजनक सहभागिता रहेको छ ।

एनएमबी बैंकको सल्लेरी शाखा र काठमाडौँको हात्तीसारबाट फारम भर्न तोकिएको थियो । सल्लेरीमा मात्र एक हजार ९०० घरधुरीले रु तीन करोड ८० लाखभन्दा बढीको फाराम भरेका अधिकृत ढुङ्गेलले बताउनुभयो ।

यस्तै काठमाडौँबाट २०० भन्दा बढीले रु दुई करोड बराबरको सेयर फाराम भरेका साहस ऊर्जा लिमिटेडका अध्यक्ष, हेमप्रसाद पाठकले जानकारी दिनुभयो ।

पहिलोपटक स्थानीयवासीलाई संस्थापक सेयर खुलाएकामा सोचेभन्दा धेरैको उत्साहजनक सहभागिता रहेको पाठकले बताउनुभयो । आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ११ बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब ६५ करोड (७३ प्रतिशत) ऋण लगानी सम्झौता भइसकेको पाठकले जानकारी दिनुभयो ।

आयोजनामा सेयरधनीबाट २७ प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ । जसमा ६० प्रतिशत संस्थापक र बाँकी साधारण सेयर वितरण गरिने छ ।
स्वदेशी निजी क्षेत्रको लगानीबाट निर्माण गर्न लागिएको यो मुलुककै सबैभन्दा ठूलो आयोजना हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij