२०८३ साउन ९ शनिबार

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा जडान

ई आर्थिक    आइतबार, माघ १६ २०७३
7.7K
Shares
बैंकबाट कर्जा लिई सौर्य ऊर्जा जडान

कञ्चनपुर, १६ माघ । बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन् ।

समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन् ।

बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाउनका लागि बैंकले गठन गरेका समूहमा आबद्ध सदस्यले रातका बेला घर उज्यालो पार्न, रेडियो, टिभी चलाउन, चिसोमा पानी तातो बनाउन, खाना पकाउन हिटर चलाउन र हेन्डपम्पमा जडान गरेको विद्युतीय मोटरबाट पानी निकाल्नका लागि सौर्य ऊर्जा प्रणालीको सदुपयोग गर्र्र्दै आएका छन् ।

“समूहका आर्थिक रुपमा अतिविपन्न परिवारको छनोट गरी वार्षिक १६ प्रतिशत ब्याजमा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि कर्जाका रुपमा रु ७७ लाख ६० हजार रकम परिचालन गरेका छौँ” – बैंकका शाखा प्रबन्धक रामज्ञा रामले भन्नुभयो ।

उहाँका अनुसार सौर्य प्रणालीको सदुपयोग गर्दै आएका सदस्यलाई जनही रु ३५ हजारदेखि रु ४० हजारका दरले कर्जाको रकम प्रदान गरिएको छ ।

कर्जाको रकम सरल २४ किस्ताका रुपमा दुई वर्षभित्रै चुक्ता गर्ने सीमा निर्धारण गरिएको छ ।

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा प्रणाली जडान गर्नुभएकी दीपनगरकी बेलुदेवी चुनाराले बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाएको बताउनुभयो ।

सौर्य ऊर्जा प्रणालीको उपयोग गर्न थालेपछि विद्युत्को महसुलसमेत थोरै मात्र बुझाउँदै आएका छौँ, उहाँले भन्नुभयो – “विद्युत् नहुँदा पनि घर सधैँ उज्यालो हुने भएकाले निकै सहजता भएको छ ।”

“विद्युत्को अभावमा मट्टीतेलको टुकी, दियो र मैनबती बालेर उज्यालो गर्ने दिनको अन्त्य सौय ऊर्जा प्रणाली जडानले गरिदिएको छ” – उहाँले भन्नुभयो ।

बेदकोट नगरपालिकाको वसन्तथलाकी नितु रावतले विगतमा विद्युत् जडान गर्ने खर्च नहुँदा टुकी र लालटेनको सहारामा बस्दै आएको उल्लेख गर्दै भन्नुभयो – “बैंकले गठन गरेको समूहमा आबद्ध भई बिना धितो जमानीका आधारमा कर्जा पाएपछि सौर्य ऊर्जा प्रणाली जडान गरी घर उज्यालो पारेका छौँ ।” विद्युत्को अभाव सौर्य ऊर्जाले पूरा गरेको उहाँको भनाइ रहेको छ ।

बैंकमा अझै सौर्य ऊर्जा जडानका लागि सय बढी समूहमा आबद्ध सदस्यले माग गरेका छन् ।
सौर्य ऊर्जा र गोबरग्यास जडानका लागि ३९४ सदस्यलाई बैंकले रु एक करोड २९ लाख ४० हजार रकम लगानी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij