१३ माघ, काठमाडौं । विदेशी वायुसेवा कम्पनीका विमानभित्र रहने इनफ्लाइट सेक्युरिटी अफिसर (एयर मार्सल)ले नेपालमा बास नपाएको र भविष्यमा पनि नपाउने सरकारले जनाएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ बमोजिम गृह मन्त्रालयको अनुमतिमा इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने व्यवस्था भए पनि एयरमार्सललाई नेपालमा बास बस्ने व्यवस्था भने नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्ट पारेको छ ।
नियमावलीको नियम ३४ को उपनियम ७ मा कुनै पनि वायुयानभित्र इनफ्लाइट सेक्युरिटी अफिसर राख्नुपर्ने भएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको सिफारिससहित गृह मन्त्रालयको स्वीकृति लिनुपर्नेछ,’ मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सो नियमावलीमा कतै पनि इनफ्लाइट सेक्युरिटी अफिसरलाई रात्रि विसान गर्न दिने भन्ने व्यवस्था नभएको हुँदा उच्चस्तरमा आवश्यक छलफल र सम्झौता नभएसम्म द्विपक्षीय सम्झौतामा उल्लिखित व्यवस्था कार्यान्वयन हुने अवस्था छैन ।’
एयरमार्सल के हो ?
जहाजको सुरक्षाको लागि थ्रेट बढेको अवस्थामा एयर मार्शल राख्ने गरिन्छ । केही बर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (International Civil Aviation Organization)ले एयर मार्शललाई In-Flight Security Officer भन्ने गरेको छ । शव्दकोषमा हेर्ने हो भने पनि दुबैको अर्थ एउटै भन्ने बुझिदो रहेछ । जहाजको सुरक्षामा थ्रेट बढ्यो भने सुरक्षाका अन्य उपायहरुको अलावा कुनै पनि राज्यले In-Flight Security Officer को व्यवस्था गर्न सकिने प्रावधान International Civil Aviation Organization ले गरेको छ । यस्तो व्यवस्था गर्दा सम्बन्धित मुलुकसंग दुबै मुलुकले आवश्यकता अनुसार In-Flight Security Officer राख्न सकिने गरी दुइ पक्षीय सम्झौता भएको हुनु पर्दछ । साथै बाटोमा पर्ने मुलुहरुसंग पनि यस्तो सम्झौता भएपछि मात्र In-Flight Security Officer राखिन्छ । यसका लागि हातहतियार सम्बन्धी जिम्मेवारी प्रायः गृह मन्त्रालयको हुने गर्दछ । यसका लागि गृह मन्त्रालय स्तरमा दुई पक्षीय सम्झौता हुनु पर्दछ । यसरी गृह मन्त्रालयसंग सम्झौता भएपछि सम्बन्धित मुलुकको नागरिक उड्डयन बिभाग वा प्राधिकरणले एक अर्का मुलुकमा गोप्य रुपमा हात हतियारको बिबरण, संख्या लगायतका बिषयमा जानकारी गराएर मात्र लागु गर्न सकिन्छ । In-Flight Security Officer राख्दा राज्यका प्रहरी वा सेना हुनु पर्दछ । उनिहरु विशेष तालीम प्राप्त हुनु पर्दछ । उनिहरुले प्रयोग गर्ने गोली नछेड्ने अर्थात Flattened Type को हुनु पर्दछ । जहाजका अंगहरुमा तेल भरिएको वा तारहरु जडित हुन्छन् । छेडेर जाने गोली प्रयोग गर्दा जहाजको सुरक्षा (Safety) मा नै असर गर्न सक्छ । यस्ता सुरक्षाकर्मीले वायुयानको कमाण्डरको आदेशमा मात्र गोली चलाउन पाउंछन् । यस्ता सुरक्षाकर्मीहरु युनिफर्म वा सादा पोशाक कुनैमा पनि रहन सक्छन् । यो कुरा In-Flight Security Officer राख्ने मुलुकको निर्णयमा भर पर्दछ । यदि सादा पोशाकमा भए उनिहरु कुन सिटमा बसेका छन्, त्यसको जानकारी वायुयानको कमाण्डरलाई दिनु पर्दछ । उनिहरु जुन उडानबाट आएका हुन्, सोही उडानबाट फर्कनु पर्दछ ।
कसरी उठ्यो नेपालमा एयरमार्सलको मुद्दा ?
मन्त्रालयले २०–२१ डिसेम्बर २०१६ मा भारतको नयाँदिल्लीमा नेपाल भारतबीच हवाई रुटसम्बन्धी द्विपक्षीय वार्ता र वार्तापछि भएको सम्झौताका विषयमा समेत स्पष्ट पारेको छ । वार्ताका क्रममा भारतीय पक्षले अकस्मात इनफ्लाइट सेक्युरिटीको विषय उठाएपछि वार्ता भाँडिन नदिन नेपालले छलफल अगाडि बढाएको मन्त्रालयको भनाइ छ ।