बागलुङ । युवा पिढीलाई लागु पदार्थको सेवनबाट टाढै राख्ने उदेश्यका साथ बागलुङको एक सहकारीले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ ।
सूचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर अन्य सामाजिक कार्यमा समेत सक्रिय रहदै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले दुव्र्यसन रोक्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।
आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना प्रदान गर्ने उदेश्यले पहिलो चरणमा बागलुङ नगरपालिकाका ११ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
नगरपालिकाका ११ वडामा कार्यरत सामाजिक परिचालकहरुसंग मंगलवार सम्पन्न वैठकले वडामा सञ्चालन गर्ने कार्यक्रमको योजना निर्माण गरेको छ ।
अभियान अन्तरगत बानपा ८ मा माघ २९ गते, बानपा ७ मा फागुन ७ गते, बानपा १० मा फागुन १४ गते, बानपा ६ मा फागुन २१ गते, बानपा ११ मा फागुन २८ गते, बानपा ९ मा चैत ५ गते, बानपा ३ मा चैत १२ गते, बानपा २ मा चैत १९ गते, बानपा १ मा चैत २६ गते, बानपा ४ र ५ मा बैशाख दोस्रो र तेस्रो साता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।
संस्थाको गत असोजमा सम्पन्न दशौ वार्षिक साधारणसभाले आगामी असार मसान्तसम्म बागलुङ नगरपालिका लगायत लागु औषधको कारोबार तथा प्रयोग हुने ठाउँलाई केन्द्रीत गरी २० वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
पहिलो चरणमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा बढी भन्दा बढी आमाहरुलाई सहभागी गराउने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
आमाहरु छोराछोरीसंग धेरै समय संगै हुने भएकाले उनीहरुलाई लागु औषध प्रयोग सम्बन्धी सचेतना दिने, लागु औषध प्रयोगकर्ताहरुको अवस्थाका बारेमा जानकारी गराई युवा युवतीहरुलाई कुलतबाट टाढा राख्ने लक्ष्य संस्थाले राखेको छ ।
कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार देवबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघका सञ्चालक दिपेन्द्र बास्कोटा, संस्थाका उपाध्यक्ष अञ्जु जिसी लगायतले दुव्र्यसन सम्बन्धी सचेतनाका लागि सबै सराकोरवालाहरुबीच समन्वय आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रमको उदेश्य र संस्थाका बारेमा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो ।