२०८३ साउन ९ शनिबार

पर्यटन विभागको सेवा कम्प्युटर प्रणालीमा

ई आर्थिक    सोमबार, माघ १० २०७३
4.5K
Shares
पर्यटन विभागको सेवा कम्प्युटर प्रणालीमा

१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली (डिजिटलाइज)गर्ने प्रक्रिया सुरु गरेको छ ।

पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभयो ।

“हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन् कानुनी रुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको छ” – उहाँले भन्नुभयो ।

महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताउनुभयो ।

परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ ।

विभागका अनुसार अहिले वेभसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ । यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् ।

यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ । प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा ती मध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij