१० माघ, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा दर्शन गर्न जानेको सङ्ख्या तीन लाख भन्दा बढी पुगेको छ ।
हरेक बर्षको माघ १ गतेबाट उक्त ठाउँमा १५ दिने मेलासमेत सञ्चालन हुने हुँदा त्याहा जाने तिर्थालुको सङ्ख्या बढेको हो । पूर्वको तराई पहाड र भारतको बिहारलगायत राजधानी काठमाडौंदेखि भक्तजन दर्शन गर्न आउने गरेका छन। अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेकोसमेत स्थानीय केदार धमला बताउनुहुन्छ ।
यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउनुभयो ।
उक्त पुराणमा सङ्कलन भएका रकम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताउनुभएको छ ।
भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा-टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् ।