समस्याग्रस्त वित्तीय संस्थाको सूचिबाट हटेको जनरल फाइनान्स लिमिटेडले पुनः औपचारिक वित्तीय कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाए पछि फाइनान्सले पुनः कारोबार सुरु गरेको हो ।
वित्तीय अवस्था विग्रेका कारण ३ वर्षअघि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित गरेको थियो । फाइनान्सले २०७० साल देखि निक्षेप परिचालन र कर्जा लगानी गर्न पाएको थिएन । गैरआवसीय नेपाली (एनआरएन) सहितको लगानीबाट यो संस्थालाई सञ्चालनमा ल्याइएको हो ।
उक्त फाइनान्सको औपचारिक कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीबी नेपालले गर्नुभएको थियो । सो अवसरमा गभर्नर डा. नेपालले बैंक वित्तीय संस्थामा जनताको पैसा हुने भएकाले त्यसलाई आफ्नो सम्पति ठानेर प्रयोग नगर्न आग्रह गर्नुभएको छ । डा. नेपालले पैसा शेयर बजारबाट कमाउन सकिने सुझाव दिनुभयो ।
जनताको पैसा दुरुपयोग गर्नेतिर नलाग्न सुझाब दिनुहुदै डा. नेपालले भन्नुभयो– ‘तपाईहरुले संस्था राम्रो बनाउनु भयो भने शेयर बजारमा भाउ बढ्छ । त्यहाँबाट कमाउन सकिन्छ र तपाईहरुलाई पूँजी बजारले धनी बनाइदिन्छ ।’ गभर्नर डा. नेपालले पैसा हालेको भरमा व्यवस्थापनमा हस्तक्षेप नगर्नसमेत शेयरधनीहरुलाई आग्रह गर्नुभएको छ ।
गैरआवसीय नेपालीहरु छिरेको उक्त फाइनान्समा उनीहरुले एक सय २५ प्रतिशत हकप्रद शेयरको निर्णय गर्दै कम्पनीको पूँजी बढाएका हुन । गभर्नर नेपालले जनरल फाइनान्समा पैसा हालेका र निक्षेप जम्मा गरेकाहरु अप्ठेरोमा परेका बेला लगानी गरेर संस्था जोगाइ दिएकोमा नयाँ लगानीकर्तालाई धन्यवाद पनि दिनुभयो ।
आफू राष्ट्र बैंक छिरेपछि समस्याग्रस्त संस्थालाई घटाउने योजना राखेको सुनाउँदै त्यसमा सफल हुँदै गएको उहाँले बताउनुभयो । ८ वटा समस्याग्रस्त संस्थालाई चलाउन नयाँ समूहले सहमति जनाइसकेको छ । ती समस्याग्रस्त वित्तीय संस्था पनि चाँडै सञ्चालनमा आउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।