ई–आर्थिक, काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालले सीप तथा क्षमता विकास इकाई गठन गरेको छ । अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्देश्यले गठन गरिएको हो । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको थियो । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही जेठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
शुरुवाती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।
विद्युतीय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढ्दै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक सो किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इएलएम यसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो । वर्कशप गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतीयय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।