२०८३ असोज २ शुक्रबार

सुपर लघुवित्त वित्तीय संस्था विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता, २३ करोड रकम अनियमितता भएको ठहर

ई आर्थिक    मंगलबार, असोज ११ २०७९
8.8K
Shares
सुपर लघुवित्त वित्तीय संस्था विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता, २३ करोड रकम अनियमितता भएको ठहर

ई–आर्थिक, काठमाडौं । अनियमितता भएको पाँच महिना पछि सुपर लघुवित्त वित्तीय संस्थाको मुद्दा उच्च अदालत तुलसीपुरमा दर्ता भएको छ । नेपाल राष्ट्र बैङ्कले २३ करोड रकम अनियमितता भएको ठहर गरेको पाँच महिनापछि मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दाङले बैङ्किङ कसुरअन्तर्गत मुद्दा दर्ता गराएको हो । नेपाल राष्ट्र बैङ्कको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्दाको अनुसन्धान गरिरहेको छ ।

सुपर लघुवित्त वित्तीय संस्थाले फर्जी कागजपत्र तयार गरेर ऋण प्रवाह गरेको राष्ट्र बैङ्कले आशङ्का गरेको छ । वार्षिक लेखा परीक्षण गर्ने क्रममा नक्कली ऋणीका कागजपत्र फेला पारेपछि सुधारका लागि पत्रसमेत लेखेको थियो । लघुवित्त वित्तीय संस्थाले भएको कारोबारलाई स्पष्ट पार्न नसकेपछि २३ करोड अनियमितता भएको भन्दै राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको हो ।

तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थामा कार्यरत चार जना कर्मचारी पनि पक्राउ परेका छन् । नक्कली ऋणी तयार पार्ने कार्यमा संलग्न रहेको आशङ्कामा प्रहरीले पुनः पक्राउ गरेको छ । यसअघि जेठ २६ गते लघुवित्तका कायममुकायम कार्यकारी अधिकृत बुद्धिराम चौधरी, तुलसीपुर शाखा प्रमुख सञ्जीव चौधरी, बिजौरी शाखा प्रमुख यशोदा थापा र कुसुम चौधरीलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा लघुवित्तका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गर्न सकेको छैन । राष्ट्र बैङ्कले सञ्चालक समितिका अध्यक्ष किरण चौधरीलाई मुख्य अभियुक्तका रूपमा उजुरी दिएको भए पनि निजलार्ई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले सञ्चालक समितिका अध्यक्ष किरण चौधरीलाई पक्राउ गर्न टोली खटाएको बताउनुभएको छ । लघुवित्तले ५८ करोड ५० लाख ऋण प्रवाह गरेको छ । तुलसीपुरबाट २०५९ सालदेखि सुपर लघुवित्त वित्तीय संस्थाले कारोबार सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij