२०८३ असोज २ शुक्रबार

उदयपुर सिमेन्टमा ‘कुलमान’ बन्दै महाप्रबन्धक न्यौपाने, १४ बर्षदेखि हुन नसकेको साधारणसभादेखि सेयर निष्काशनसम्मको तयारी

ई आर्थिक    शनिबार, जेष्ठ ८ २०७८
32.3K
Shares
उदयपुर सिमेन्टमा ‘कुलमान’ बन्दै महाप्रबन्धक न्यौपाने, १४ बर्षदेखि हुन नसकेको साधारणसभादेखि सेयर निष्काशनसम्मको तयारी

उद्योगको पुँजी बृद्धि पनि गरिदै

ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले अर्को महत्वपूर्ण कार्य सम्पन्न गर्ने तयारी पुरा गरेका छन् । १४ आर्थिक बर्षदेखि हुन नसकेको उद्योगको साधारणसभा गर्ने तयारी पुरा भएको महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

यही जेठ ३० गते उद्योगको २०औं देखि ३३औं बार्षिक साधारणसभा एकसाथ सम्पन्न गर्ने सम्बन्धमा एक सूचना समेत प्रकाशित गरिएसकिएको छ । उद्योगको समिक्षालय हल, जलजले उदयपुरमा राखिएको उक्त साधारणसभा कोभिड माहामारी जोखिमका कारण भिडियो कन्फ्रेन्स (भर्चुअल मिटिङ) मार्फत गरिने भएको छ ।

साधारणसभामा सर्वसाधारणसमेतलाई साधारण सेयर जारी गर्ने सम्बन्धमा विशेष र महत्वपूर्ण प्रस्ताव उपर छलफल हुने भएको छ । उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँ बराबरको साधरण सेयर निष्काशन गर्ने सम्बन्धमा छलफलका लागि प्रस्ताव गरिने तयारी भइरहेको महाप्रबन्धक न्यौपानेले बताए ।

उद्योगको नाममा रहेको १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रूपैयाँ व्याज गरी जम्मा रू. ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रकमलाई साधारण सेयर कायम गरी नेपाल सरकारको साँवा तथा ब्याज रकम राफसाफ गर्न छलफलको लागि विशेष प्रस्ताव गर्न लागिएको महाप्रबन्धक न्यौपानेको भनाई छ ।

उक्त रकम बराबरको साधारण सेयर जारी गरेपछि सो हदसम्म उद्योगको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि साधारणसभामा छलफलका लागि प्रस्ताव गरिने भएको छ ।

उद्योगको हालको अधिकृत पुँजी ४ अर्ब रूपैयाँबाट बृद्धि गरी १० अर्ब कायम गर्ने विशेष प्रस्ताव साधारणसभामा गर्न लागिएको छ ।

त्यस्तै सभाले २०औं देखि ३०औं आर्थिक बर्षसम्मको सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.ब. २०६४ देखि २०७७ सम्म तत्आर्थिक बर्षको अषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक बर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्नेलगायतका विषयहरुलाई साधारणसभामा छलफलका लागि प्रस्ताब गरिने भएको छ ।

त्यस्तै आर्थिक बर्ष २०६३/०६४ देखि २०७६/०७७ सम्मको महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा आर्थिक बर्ष २०७७/०७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने विषयमा पनि छलफल हुने भएको छ ।

उक्त उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपाने योजनाबद्ध ढंगले लागि परेका छन् । उद्योगको समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालेको छ । सिमेन्ट उत्पादन र विक्रीमा समेत नयाँ–नयाँ रेकर्ड राख्न सफल भइसकेका छन् ।

छोटो समयमै पनि व्यवस्थापकीय नेतृत्वले योजना र रणनीतिक ढंगबाट प्रयास गर्दा उद्योगले हरेक उपब्धिहरू हात पार्न सक्ने रहेछ भन्ने उनी यो उद्योगमा उदाहरण बनिरहेका छन् । उनको छोटो कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भइरहेका छन् । यसैक्रममा उनी आफ्नो ४ महिने छोटो अवधिमै विगत १४ बर्षदेखि हुन नसकेका साधारणसभा सम्पन्न गर्ने तयारीमा समेत सफल हुँदैछन् ।

कुनै पनि कम्पनी या संस्थाको साधारणसभालाई आर्थिक अनुशासन र संस्थागत सुशासनको महत्वपूर्ण पाटोको रुपमा लिने गरिन्छ । तर त्यही साधारणसभा विगत १४ बर्षदेखि हुन सकेको थिएन् ।

उद्योग सञ्चालक समितिका अध्यक्ष, सञ्चालक तथा सम्पूर्ण कामदार कर्मचारीहरुको सहयोगले नै आफ्नो योजना, रणनीति र प्रयासहरूले सफलता हात पारिरहेको महाप्रबन्धक न्यौपानेले बताए ।

महाप्रबन्धक न्यौपानेले आफ्नो छोटो कार्यकालमै उद्योगमा सुधारको धेरै राम्रा प्रयासहरू गरिरहेकाले उनी उदयपुर सिमेन्टका ‘कुलमान’ हुने संभावना बढिरहेको भन्दै उद्योगका एक सञ्चालकले उनको प्रशंसा गरे ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले झै राम्रो ढंगले उनले व्यवस्थापकी नेतृत्व र कार्यहरु गरिरहेकाले महाप्रबन्धक न्यौपाने साच्चिकै उद्योगका ‘कुलमान’ हुने विश्वास समेत व्यक्त गरे ।

सही व्यवस्थपकीय नेतृत्वको अभावमा अस्तव्यस्त बनेको उद्योगमा व्यवस्थापकीय नेतृत्वको हैसियतबाट गरिने उनका सबै सकारात्मक प्रयासमा आफूहरुले उनलाई खुलेरै साथ सहयोग गर्नेे समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij