ई–आर्थिक, काठमाडौँ : लघुवित्त वित्तीय संस्थाबाट ऋण तथा सापटी लिएका ग्राहकलाई केही मात्रमा भएपनि राहत हुने भएको छ । लघुवित्त बैंकहरुका छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघले ५ देखि १० प्रतिशतसम्म ब्याज छुट दिने निर्णयसँगै लघुवित्तका ग्राहकहरु लाभान्वित हुन लागेका हुन । संघले उक्त निर्णय गरी कार्यान्वयनका लागि सदस्य संस्थालाई परिपत्र गरेको छ ।
वैशाखदेखि असारसम्म भुक्तानी हुने नयाँ–पुराना सबै ब्याजमा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने संघका अध्यक्ष वसन्त लम्सालले जानकारी दिए । अघिल्लो पटकको कोरोना संक्रमण तीव्र रूपले बढिरहेको समयमा राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिएका थिए ।
कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको समयमा फिल्डमा हिँड्ने र सदस्यसँग भेटघाट गर्ने काम कम गर्न पनि संघले आग्रह गरेको छ । हाल नेपालभर ७२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये ६२ वटा संस्था मात्र संघमा आबद्ध रहेका छन् । संघमा आबद्ध रहेका सबै सदस्य संस्थाका ग्राहकहरुले व्याज छुट पाउने छन् ।
संघमा आबद्ध नभएका संस्थालाई पनि परिपत्र पठाएर ब्याज छुट र स्वास्थ्य मापदण्ड पालना गराउन सुझाएको अध्यक्ष लम्सालले जानकारी दिए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि बैंकिङ समय घटाउने निर्णय गरेको छ । संघले शुक्रबार सूचना जारी गर्दै उक्त जानकारी दिएको छ ।
ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपाय अवलम्बन गर्ने सूचनामा उल्लेख छ । ग्राहकलाई परिस्थिति केही सहज नभएसम्म ससानो निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने पनि निर्णय पनि एसोसिएसनले गरेको छ ।