सहुलियत दरमै तीन प्रकारका जोखिम बहन हुने सुविधा
ई–आर्थिक, काठमाडौं । बीमाको क्षेत्रमा विभिन्न ग्राहकमुखि योजना अघि सारिरहेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना ल्याएको छ । एक कार्यक्रमका बीच उक्त योजनाको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले शुभारम्भ गरे ।
यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन ‘कभर’ हुनेछ ।
यो बीमा पोलिसी घर अफिस जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । न्युनतम शुल्कमा यस्तो पोलिसीको सुविधा लिन सकिने छ । यदि कुनै बीमितले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गरियो भने एक वर्षमा जम्मा १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।
यदि बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरियो भने एक वर्षमा तीन हजार रुपैयाँ मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ । यस बाहेक बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा रहेको कम्पनीको भनाई छ ।
सगरमाथाले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको छ । बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनु पर्नेछ । अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम दाबी गर्न सकिन्छ । दाबी फारम भरेको र सबै कागजपत्र पुरा गरेको उक हप्ताभित्र रकम प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा जारी गरेको यस पोलिसीको शुभारम्भ कार्यक्रममा समितिका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु पुजन ढुङ्गेल, शुशिलदेव सुवेदी, दिनेश लाल कर्णको उपस्थिती थियो । त्यसैगरी सगरमाथा इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष रामकृष्ण मानन्धर, लोक मान्य गोल्छा लगायतको उपस्थिती रहेको थियो ।