ई–आर्थिक, हेटौँडा । शुक्रबार बिहान दुईवटा हेलिकोप्टर मकवानपुरको विकट गाउँको चेपाङ बस्तिमा ओर्ल्यो। जहाँ चेपाङहरुको बाक्लो भिड देखिन्थ्यो। त्यो भिड हेलिकप्टर हेर्न नभएर बिश्व सुन्दरीलाई हेर्न लागेको थियो।
मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङस्थित ङिको स्वास्थ्य चौकीमा मिस वल्र्ड २०१९ की बिजेता टोनी एन सिंहसहितको टोलीले अवलोकन गर्न आएका थिए। तेही बिश्व सुन्दरीसहितको हेर्न को टोलीलाई कैलाश गाउँपालिका र स्थानीयबासिन्दा तथा चेपाङहरुले स्वागत गर्न भिड लागेका थिए।
टोलीमा मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ शृङखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, मिस नेपालका आयोजकहरु सहभागी थिए ।
उनीहरुले मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी श्रृंखला खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएपछि निर्माण स्वास्थ्यचौकी र तामलाङको बस्तुस्थिति अबलोकन गरे ।
अहिलेसम्म सो स्वास्थ्य बर्थिङ सेन्टर चलाउन नसकिएको समस्याबारे मिस वल्र्ड र मिस वल्र्डकी अध्यक्षलाई खतिवडाले त्यसबारे जानकारी गराईन । स्वास्थ्यचौकीको अबलोकनपछि बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता मिस वल्र्डकी अध्यक्ष मोर्लेले गरेकी छिन्।
मिस वल्र्ड, मिस नेपालसहित विदेशीहरु पाहूनाहरु हेर्नका लागि चेपाङ बस्तीबाट सयौँ स्थानीयबासिन्दा जम्मा भएका थिए । जब हेलिकोप्टर स्वास्थ्यचौकी नजिकै स्थानीय चेपाङको बारीमा अबतरण भयो, त्यसपछि बारीको पाटा हुँदै पैदल हिँडेर मिस वल्र्ड सिंह, मिस वल्र्डकी अध्यक्ष मोर्ले, मिस नेपाल २०१९ अनुष्का तथा मिस नेपाल २०१८ खतिवडासहितको टोली स्वास्थ्यचौकी पुगेकी थिईन ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।