ई–आर्थिक, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा बिशेष महत्व दिने रणनीति अनुरुप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गर्नुभयो । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा प्रदान गरिएको थियो ।
कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तीय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तीय क्रान्तिमा लाग्न सुझाब दिनुभयो । सो अवसरमा उहाँले आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन समेत आग्रह गर्नुभयो । साथै आफूसँग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि उहाँले सो अवसरमा आग्रह गर्नुभयो ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरु आफुले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंगसेवा तथा सुविधाहरु प्रदान गर्ने बताउनुभयो ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताउनुभयो ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल, कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरी बाराका प्रमुख कृष्णप्रसाद पंगेनी, उद्योग बाणिज्य संघका अध्यक्ष विनोद साह, कलैया उप–महानगरपालिकाका वडा नं ४ का अध्यक्ष जटा शंकर, सिभिल बैंकका प्रदेश २ का प्रमुख सुरज दाहाल लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकको हालसम्म ४,१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे पनि बैंकले जानकारी दिएको छ ।