२०८३ साउन १२ मंगलबार

मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता

ई आर्थिक    मंगलबार, माघ २८ २०७६
3.9K
Shares
मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता

मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेसनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी हुन् । तर बीबीसी न्यूज नेपालीसँग नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले त्यस्तो परिवर्तनका सम्भावनाबारे अवगत नभएको बताए ।

व्यवसायीहरू अहिलेसम्म नेपाली सुरक्षागार्डका कोटामा कुनै असर नपरेको बताउँछन्।

मलेसिया के चाहन्छ ?

गत डिसेम्बरमा नेपाल आएका मलेसियाको सेक्युरीटी सङ्गठनका अधिकारीहरूले सुरक्षागार्ड तालिम केन्द्रहरू बनाएर लैजाने बताएको वैदेशिक रोजगार व्यावसायी सङ्घ नेपालका अध्यक्ष विष्णुप्रसाद गैरे बताउँछन् । गैरे भन्छन् : ‘त्यसबेला मैले व्यवसायीहरू यस प्रक्रियामा संलग्न हुन पाउनुपर्ने र केन्द्रहरू बनाउँदा सिन्डिकेट सिर्जना हुने बताएको थिएँ ।’

‘औपचारिक तहमा यसबारे कुरा हुन बाँकी छ ।’

नेपालले मलेसियासँग शून्य लागतमा कामदार लैजाने सहमति गरेकाले ‘बीचमा स्वार्थ राख्ने एजेन्टहरूले’ त्यस्तो अवस्थाको सिर्जना गराउन खोजेको हुनसक्ने व्यवसायीहरू बताउँछन् । पाकिस्तानमा सेना र प्रहरीको अनुभव सँगालेका जनशक्ति धेरै रहेको बताइन्छ ।

मलेसिया पाकिस्तानीहरूका लागि एउटा प्रमुख श्रम गन्तव्य पनि हो । नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्पप्रहरी मात्र नभएर आधारभूत तालिम मात्र लिनेहरू समेत छन्।

मलेसियाको अन्त नजर ?

नेपालीहरूका लागि १५ महिना रोकिएको मलेसिया रोजगारी सेप्टेम्बरबाट खुले पनि अधिकारी एवम् व्यवसायीहरू त्यसका असरहरू पछिल्ला विकासक्रमसँगै देखिएको स्वीकार्छन् । श्रम मामिलाका जानकार गणेश गुरुङ भन्छन्: ‘लामो समय कामदार लैजान रोकिँदा मलेसियालाई विकल्प खोज्न बाध्य पारेको देखिन्छ ।’

गुरुङ भन्छन् : ‘नक्कली प्रमाणपत्र बनाएर जाने नेपाली सुरक्षागार्डको सङ्ख्या बढेपछि गुनासाहरू सुनिन थालेका थिए।’ सेप्टेम्बरमा कामदार पठाउने बाटो खुले पनि केही साता अघिसम्म अधिकांश पुराना स्वीकृतिका नेपालीहरू मात्र गएको व्यावसायीहरू बताउँछन् ।

रोजगारदाताहरू नेपालसँगको सम्झौतामा समेटिएका पछिल्लो व्यवस्था र कार्यशैलीले गर्दा विभिन्न संशय मानिरहेको समेत ठान्छन् ।

सुरक्षागार्डमा गोर्खा ब्रान्ड

सुरक्षागार्डमा नेपालीहरूको पहिचान मलेसिया, हङ्‍कङ, मकाउ र मध्यपूर्वका थुप्रै देशमा निकै राम्रा मानिने गर्छन् । अझ मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो युवा अवस्थादेखि नै गोर्खा गार्ड्सका रूपमा नेपालीहरूको राम्रो प्रभाव देखेका हुँदा उनको सद्भाव नेपालीप्रति उच्च रहेको जानकारहरू बताउँछन् ।

उग्र कम्युनिष्ट शक्तिहरूलाई दबाउन मलेसियाले पूर्वगोर्खा ब्रिटिश सेनाहरूलाई प्रयोग गरेकाले त्यसको छाप परेको गुरुङ बताउँछन् ।

नेपाली कामदार

गुरुङ भन्छन्, ‘हामीहरू भने इतिहासमा मात्र गर्व गरेर बस्यौँ। पछिल्लो अवस्था अनुकूल तालिम जोडेर व्यावसायिकता विकास गर्नेतर्फ पर्याप्त ध्यान दिएनौँ।’ अहिलेको अवस्थामा पाकिस्तानीहरूले त्यहाँ पुगेर राम्रो काम गर्न थाले भने नेपाली सुरक्षागार्डले बनाएको पहिचानमा दीर्घकालीन असर पर्ने विज्ञहरूको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij