२०८३ असोज २ शुक्रबार

एउटै वडाबाट १५ करोडको आलु निर्यात

ई आर्थिक    आइतबार, भाद्र २२ २०७६
8.6K
Shares
एउटै वडाबाट १५ करोडको आलु निर्यात
सल्यान — कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने बाफुखोला अहिले करोडौं रुपैयाँको आलु निर्यात गर्ने गाउ बनेको छ । बागचौर नगरपालिका–१२ बाफुखोलाबाट यस वर्ष १५ करोड रुपैयाँको आलु निर्यात भएको हो ।

मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । बाफुखोलाका ८० प्रतिशत जमिनमा वर्षे आलुखेती गरिँदै आएको छ ।

कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका बागचौर नगरपालिका–१२ बाफुखोलाकी कमला वलीले आलुखेती सुरु गरेपछि भारत नगएको बताइन् । ‘२० वर्षसम्म भारतका विभिन्न स्थानमा पुगेर पसिना बगायौं, त्यो छाडेर आलुखेती गरेपछि बर्सेनि तीनदेखि सात लाख रुपैयाँ बराबरका आलु बिक्री गर्दै आएका छौं,’ उनले भनिन् ।

परम्परागत अन्नबाली लगाउँदा खासै परिवारको आर्थिक अवस्था राम्रो नभएपछि व्यावसायिक रूपमा आलुखेती गर्न सुरु गरेको स्थानीय गणबहादुर वलीले बताए । ‘मेरो १५ रोपनी जग्गा छ, मकै, गहुँ लगाउँदा तीन महिनाभन्दा बढी खाना कहिल्यै पुगेन तर अहिले आलुखेतीबाट बर्सेनि ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु,’ उनले भने ।

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्न थालेपछि किसानमा उत्साहसमेत थपिएको स्थानीय दुर्गाबहादुर वलीले बताए । ‘पहिले आलु लगाउँदा सडक थिएन, आलु बिक्री गर्न धौधौ हुन्थ्यो तर अहिले आलु खरिद गर्न व्यापारी बारीमै आउँछन्, यसले किसानमा थप हौसला थपेको छ,’ उनले भने ।

गाउँमै आलुखेती गर्न थालेपछि भारत जानेको संख्या घटेको वडा नं १२ का वडाध्यक्ष दीपक वलीले जानकारी दिए । ‘तीन वर्षअघिसम्म यहाँका मानिस वैशाख–जेठमै सबै परिवार लिएर मजदुरीका लागि भारत जाने गर्थे, अहिले आलुखेतीमा लागेपछि भारत जानेको संख्या नगण्य मात्रामा रहेको छ,’ वडाध्यक्ष वलीले भने ।

यस वडामा आलु भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा परेको वडाध्यक्ष वलीको भनाइ छ । ‘आलुको पकेट क्षेत्रका रूपमा घोषणा गरिए पनि आलुको भण्डारणगृहको अभाव रहेको छ, यसले गर्दा कृषकले भण्डारण नगरी बारीबाटै आलु बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

यस वर्ष मात्रै करिब १२ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ । यस वडाको करिब दुई हजार रोपनीमा आलुखेती गरिएकामा छ हजार टन आलु निर्यात भएको तथा बाँकी बीउ र स्थानीय बजारमा बिक्री भएको सम्पर्क कार्यालयले जनाएको छ ।

यहाँ उत्पादन भएको आलुमा विषादीको मात्रा न्यून रहेको र स्वादिष्ट हुने भएकाले वर्षे आलुको माग उच्च रहेको छ । यहाँ उत्पादन भएको आलु दाङ, नेपालगन्ज, धनगढी, चितवन, पोखरासम्म निर्यात हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रतिकेजी १५ देखि २० रुपैयाँमा आलु बिक्री गरेका कृषकले यस वर्ष प्रतिकेजी २५ रुपैयाँसम्ममा बिक्री गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij