ई–आर्थिक, काठमाडौं । सन्दर्भ ब्याजदरको विषयलाई लिएर काठमाडौंका सहकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहाकारी संघ काठमाडौं, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा काठमाडौंका सहकारीकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रम सहभागी अधिकांश सहकारीकर्मीहरुले सरकारले हालै लागू गरेको सन्दर्भ व्याजदर कार्यान्वयन गर्न कठिन हुने भन्दै यसलाई पुनरावलोकन गर्नुपर्ने माग गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीलगायत आयोजक ३ वटै जिल्ला संघका अध्यक्षहरू उपस्थिति रहेको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका सहकारीकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सन्दर्भ ब्याजदरको विषयलाई लिएर सहकारीको सात सिद्धान्तमध्ये चौथो सिद्धान्त स्वायत्तता माथि राज्यले हमला गरेको आरोप लगाए ।

सन्दर्भ व्याजदरमा आफूहरुको सहमति नरहेको उनले बताए । ‘हामीहरुले २५/२६ प्रतिशत व्याज लिन पाउनुपर्छ भन्ने पक्षमा छैनौं ।’ उनले भने– ‘उद्यमशीलता विकासका लागि व्याजदर सिंगल डिजिटमा नै हुनपर्छ ।’
राज्यले सहकारीलाई वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त भन्दा पनि तुच्छ व्यवहार गर्ने तर ब्याजदर तोक्ने बेलामा वाणिज्य बैंकको ‘रेफरेन्स’ लिने कुरा न्यायोचित नभएको उनले तर्क गरे । सन्दर्भ व्याजदर आवेशमा ल्याएको भन्दै उनले आपत्ति जनाए ।
‘कर्फ्यु लगाउँदा त दुई चार घण्टा समय दिइन्छ, १७ गते पत्रकार सम्मेलन गर्ने १९ गते देखि लागू गर्नुपर्छ भन्ने कत्तिको न्यायोचित छ ?’ अध्यक्ष चौलागाईको प्रश्न थियो । राष्ट्रिय सहकारी महासंघले विदेश भ्रमण जाँदा वा सामान्य तालिम हुँदा सबैलाई जानकारी गराउने गरेको तर सहकारीको अस्तित्वसँग जोडिएको यति ठूलो विषयमा अभियानसँग छलफल गरेर रायसुझाव नलिएको भन्दै भन्दै अध्यक्ष चौलागाईले गुनासो पोखे ।
कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष मनोज थापाले सहकारीकर्मीलाई निरुत्साहित गर्ने गरी सन्दर्भ व्याजदर आएको भन्दै गुनासो व्यक्त गरे । आइसिएले सहकारीलाई स्वायत्त र स्वतन्त्र संस्था मानेको भएपनि सहकारीमा यो सिद्धान्त लागू नभई राज्यले ठाडो हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए । सहकारीकर्मीका सामु समस्या आएको भन्दै उनले त्यसलाई एक ढिक्का भएर सामना गरे समाधान हुने बताए । त्यसका लागि सबैलाई रचनात्मक र सकारात्मक सुझावका दिन आग्रह गरे ।
कार्यक्रममा सन्दर्भ व्याजदर निर्धारण समितिका सदस्य एवं नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले पनि यसमा आफ्नो खुलेर समर्थन नरहेको बताए । आफ्नो असहमतिका बाबजुद पनि उक्त व्याजदर निर्धारण समितिमा अभियानको तर्फबाट आफू अल्पमत परेको उनले बताए । केही समय अघि सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा आफूले लघुवित्त सरह १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्क लिन पाउनुपर्ने माग गरेको मन्तव्यका क्रममा स्मरण गराए । तर पटक–पटक बसेको समितिको बैठकमा अभियानले रोक्न खोजेको भन्ने सरकारी बुझाईका कारण आफूहरुले सन्दर्भ व्याजदरमा बाध्य भएर हस्ताक्षर गरेको जानकारी दिए । सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत ऋण, बहुउद्देश्यीय, सहकारी बैंक र वाणिज्य बैंकहरुको व्याजदरलाई आधार लिएको र ती सबै संस्थाको समग्र औसत १४.७२ मात्रै निस्किएको उनले बताए । आधार व्याजदरका लागि सहकारी संस्थाहरुबाट रिफरेन्स लिइएका अधिकांश संस्थाले १४÷१५ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको देखाएको र त्यसैलाई आधारमा मानेर १६ प्रतिशत व्याजदरमा सहमति गर्नुपरेको उनको प्रष्टिकरण थियो । सेवा शुल्क तोक्ने अधिकार रजिष्ट्रारको भएपनि दुई प्रतिशत सेवा शुल्क लिन पाउनुपर्ने सहमति आफूहरुले गरेको उनले कार्यक्रममा जानकारी दिए ।
नयाँ कर्जामा मात्रै १६ प्रतिशत लिन पाउने भन्दै पहिले लिएका ऋणबाट भने ऋण चुक्ता नभएसम्म जति व्याजदरमा लगानी गरेको हो, त्यति नै व्याजदर लिन पाउने निर्णय भएको उनले जानकारी दिए ।
आफूहरु अभियानको भावना विपरित काम नगर्ने भन्दै व्याजदर र सेवा शुल्क यति चाहियो भनेर निर्णय भए आफूहरु पुनर्विचारको लागि लिएर जान तयार रहेको उनले बताए । त्यसका लागि आवश्यक सहयोग गर्न समेत अध्यक्ष बस्नेतले सबैलाई अपिल गरे ।
उक्त कार्यक्रममा व्याजदर निर्धारण समितिका सदस्य एवं महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष एवं समितिका सदस्य सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायतले सन्दर्भ व्याजदरका विषयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले ‘सहकारीको स्वायत्तता र स्वतन्त्रतामा सन्दर्भ व्याजदर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभियानको तर्फबाट ब्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले सहकारीको पक्षमा काम गर्न नसकेको भन्दै कार्यक्रममा चर्को आलोचना भएको थियो । उक्त आलोचना फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालहरुमा समेत अहिले व्यापक छाएको छ ।
उक्त कार्यक्रममा समितिमा रहेका अभियन्ता प्रति सहभागीहरूले चरम असन्तुष्टी र रोष प्रकट गरेका थिए । फ्लोरमा उठेको हो हल्लालाई साम्य पार्न जिल्ला संघका महासचिव खेमराज सुवेदीलगायतलाई हम्मे–हम्मे परेको थियो ।
यसैबीच सन्दर्भ व्याजदरकै विषयमा ललितपुरमा पनि अन्तरक्रिया कार्यक्रम हुने भएको छ । जिल्ला सहकारी संघ ललितपुर, ललितपुर जिल्लला बचत तथा ऋण संघ, बहुउद्देश्यीय सहकारी संघ र कृषि सहकारी संघले उक्त अन्तरक्रिया आयोजना गर्ने भएका हुन । कोप फूडल्याण्ड थसिखेलमा कार्यक्रमको आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।