काठमाडाैं । काठमाडौंको बनस्थलीमा रहेको सहिद रामनाथ स्मृति कलेजको व्यवस्थापनमा सेयरधनीहरुले हस्तक्षेप गरेका छन् । कलेजको ९२ जना सेयरधनी मध्ये ९० प्रतिशत सेयरधनीहरुले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएर नयाँ व्यवस्थापनले काम थालेका छन् । सोही ९० प्रतिशत सेयरधनीहरुको विशेष साधारणसभाले सेयरधनी भाष्करराज पन्तको अध्यक्षतामा कलेज सञ्चालनको लागि नयाँ व्यवस्थापन समिति गठन गरेको छ । विभिन्न व्यवसायमा संलग्न पन्त प्रतिष्ठित व्यवसायी पनि हुन ।
सो समितिको सञ्चालकहरुमा रामचन्द्र खनाल, रामप्रसाद पौडेल, राम गौतम, दुर्गाप्रसाद सापकोटा, हरिप्रसाद प्रसाई, उमेशचन्द्र अधिकारी, मोहन गौतम, डा. कृष्णबहादुर थापा, शोभा के.सी., खेमराज अधिकारी, तीर्थ खड्का र तिर्थ घिमिरे रहेका छन् ।
यसअघि कलेजको अध्यक्षमा विशेश्वरा दाहाल रहेकी थिइन् । उनी सहिद रामनाथ दाहालकी पत्नी हुन । त्यसैगरी कलेजको नयाँ सञ्चालक समितिले कलेजको उन्नती, विद्यार्थीको भविष्य र लगानीकर्ताको हक विपरित कार्य गरेको भन्दै कलेजका प्रमुख प्रा. डा. नारायण संग्रौला, सहायक क्याम्पस प्रमुख पुष्पा दाहाल र प्रबन्ध निर्देशक ताराकुमार रिजाल समेतलाई पदमुक्त समेत गराएका छन् ।
सबै सञ्चालकहरुको उपस्थिति सहित कलेज प्रमुखको जिम्मेवारी रामप्रसाद पौडेललाई दिइएको छ भने सहायक प्रमुखमा उमेशचन्द्र अधिकारीलाई दिइएको छ । त्यसैगरी कलेजको प्रबन्ध निर्देशकमा डा. कृष्णबहादुर थापालाई नियुक्त गरिएको छ ।
किन भयो व्यवस्थापन परिवर्तन ?
२०६५ सालमा स्थापना भएको उक्त कलेज सहिद रामनाथ दाहालको स्मृतिमा खोलिएको निजीस्तरको कलेज हो । सो कलेजमा हाल ९२ जना सेयरधनी रहेका छन् । सिमित व्यक्ति वाहेक ८ बर्षदेखि उक्त कलेजले हालसम्म कसैलाई पनि एक रुपैयाँ प्रतिफल दिएको छैन । यसैबीच पछिल्लो समयमा सहिदपत्नी विशेश्वरा दाहालले आफैं अध्यक्ष रहेर कलेज सञ्चालन गर्ने चाहानालाई सेयरधनीहरुले विश्वासले छोडिदिएका थिए । ९२ जना सेयरधनी मध्येकी एक सहिद पत्नी दाहालको अध्यक्षतामा कलेज सञ्चालन हुदै आएको थियो । सुरुका दिनहरुमा राम्रो अवस्थाबाट सञ्चालन हुदै आएको उक्त कलेजको पठन पाठन, शैक्षिक वातावरण समेत खस्किएको अनुभव सेयरधनीले गरे । १२०० जना विद्यार्थी रहेको उक्त कलेजमा हाल पछिल्लो समयमा आएर ३०० को हाराहारीमा झरेको छ । हालकी अध्यक्ष समेतले कलेजलाई सुधार गर्ने भन्दा पनि झन विगार्ने अवस्थामा पुग्यो । कलेजलाई पुरै पारिवारिक बनाउन खोजियो । छोरालाई निर्देशक प्रविनकुमार दाहाल, बुहारी पुष्पालाई सहायक कलेज प्रमुखलगायत अन्य नातेदारहरुलाई कर्मचारी नियुक्त र राम्रा कर्मचारी र शिक्षकहरुलाई समेत निकाल्ने जस्ता गर्ने सुरु भयो । कलेजमा ‘राम्रा भन्दा पनि हाम्रा’ लाई बढी प्राथमिकता दिन थालियो । यतिसम्मकी लगानीकर्ताको लगानी र सेयरधनीको हकहितलाई समेत वेवास्ता गर्दै अध्यक्ष दाहालले कलेजको पुरै स्वामित्व आफ्नो नाममा ल्याउने प्रयास समेत गरेको पाइयो । के.पी. ओलीलाई प्रधानमन्त्री भएको समयमा उनले दिएको निवेदन र अनुरोध पत्रले समेत उक्त कुराको पुष्टि गरिदिएको छ । जुन अनुरोध पत्रको प्रतिलिपि सबै सेयरधनीहरुले सुरक्षित राखेका छन् ।
शैक्षिक वातावरण खस्कदै गएको, अध्यक्षका आफ्नै छोरा प्रविनकुमार दाहाल मादक पदार्थ सेवन गरी अनियन्त्रित ढंगले कलेज हाताभित्र प्रवेश गरी होहल्ला गर्ने गरेको, आर्थिक अनियमिततालगायत धेरै काण्डहरु कलेजमा बढ्न थाले । यस्तो अवस्था र व्यवस्थापनबाट कलेज स्थापनाको उद्देश्य पुरा नहुने, विद्यार्थी, शिक्षक, कर्मचारी र लगानीकर्ताको समेतको हितमा नहुने निष्कर्ष अधिकांश सेयरधनीले निकाले । सोही निष्कर्ष सहित नयाँ व्यवस्थापन र शैक्षिक वातावरणका साथ कलेजलाई सञ्चालन गर्न अधिकांश सबै सेयरधनीहरु सहमत भएका छन् । सञ्चालक हरिप्रसाद प्रसाईले कलेज स्थापनाको मर्म, उद्देश्य र भावनामा विश्वासले छाडिएका सबैले लगानीकर्तालाई घात गरेको बताए । ‘उद्देश्य र व्यवस्थित ढंगबाट अब कलेजले गति लिन्छ ।’ उनले भने– ‘हाम्रो नयाँ व्यवस्थापनले अब सोही ढंगबाट काम गर्छ ।’
नयाँ व्यवस्थापनलाई काम गर्न नदिन होहल्ला
व्यवस्थित ढंगबाट कलेज सञ्चालन गर्ने योजनासहित कलेज पुगेका नयाँ सञ्चालक र सेयरधनीहरुले कलेजका प्रमुख र सहायक प्रमुखलाई कलेजलाई अहिलेसम्म पु¥याएको योगदानको कदर गर्दै धन्यवाद सहित विदाई गरे । तत्कालिन अध्यक्ष दाहालले भने नयाँ सञ्चालक समितिले गरेको निर्णयको प्रतिकार गरिन । कलेजमा नयाँ अध्यक्ष नभएको कुराको प्रतिबाद गरिन । ९० प्रतिशत सेयरधनीहरुले गरेको निर्णय समेत वेवास्ता गर्दै उनले कलेजको अध्यक्ष आफैं रहेको घोषणा गरिन । सञ्चालक समितिले नियुक्ती गरेका नयाँ क्याम्पस प्रमुख रामप्रसाद पौडेललाई हातपातको प्रयास समेत गरिन । विवाद बढेपछि विशेश्वरा दाहालसहित सञ्चालकहरु र कलेजका सेयरधनीहरु प्रहरी प्रभाग बालाजुमा पुगेर छलफल समेत गरेको थिए । प्रक्रिया पु¥याएर अधिकांश सेयरधनीले गठन गरेको सञ्चालक समिति, सो समितिले गरेको निर्णयको प्रतिलिपि सहित सेयरधनीहरु प्रहरी प्रभाग बालाजु पुगेका थिए । छलफलमा सेयरधनीको हक अधिकार र कलेज सञ्चालनको नीति र विधिलाई मान्न विशेश्वरा दाहाललाई प्रभाग प्रमुख डिएसी सन्तोष तामाङले समेत अनुरोध गरेका थिए । सो अनुरोधलाई समेत उनले वेवास्ता गरेकी थिइन् । त्यसपछि डिएसपी तामाङले कलेजको शैक्षिक वातावरण विग्रन नदिने, अधिकांश सेयरधनीहरुका निर्णयलाई मध्यनजर गर्दै नयाँ व्यवस्थापनलाई कलेज सञ्चालन गर्न आग्रह गरेका थिए । उनले त्यसका लागि आफूहरुले सुरक्षाको प्रबन्ध मिलाईदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
नयाँ व्यवस्थापनको प्रतिबद्धता
शैक्षिक वातावरण खस्कदै गएपछि हस्तक्षेप गरेका नयाँ व्यवस्थापनले विद्यार्थीको भविष्य, शिक्षक, कर्मचारी र लगानीकर्ताको हितलाई मध्यनजर गर्दै कलेज सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कलेजका विद्यार्थी, अविभावक, सेयरधनी, कर्मचारी र शिक्षकहरुसमेतलाई सम्बोधन गर्दै नयाँ अध्यक्ष भाष्करराज पन्तले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । संक्षिप्त मन्तव्यमा उनले विद्यालयमा भएको आर्थिक अनियमितता लगायत अबैध गतिविधिको समेत छानविन गर्ने बताए ।
सम्बोधनकै क्रममा क्याम्पस प्रमुख रामप्रसाद पौडेलले कलेज स्थापनको मर्म, उद्देश्यलाई मध्यनजर गर्दै पूर्ण शैक्षिक वातावरणमा कलेज सञ्चालनमा आफू प्रतिबद्ध गरेको बताए । त्यसका लागि आफूसँग योग्यता, क्षमता र अनुभवसमेत रहेको उनले बताए । प्रबन्ध निर्देशक डा. कृष्णबहादुर थापाले कलेजलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै सर्वोपरि हितमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।