वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। मंगलबार साँझ ७ बजेसम्म तोकिएको समयसीमाभित्र सभापतिसहित २० पदाधिकारीका लागि उम्मेदवारी दर्ता भएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। महामन्त्री पदमा भने ११ जनाको उम्मेदवारी परेको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध भएकी छन्।
उपसभापतिमा १५ जनाको उम्मेदवारी परेको छ। त्यसमध्ये खुला दुई पदका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव चुनावी प्रतिस्पर्धामा छन्।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।
महामन्त्रीमा ११ जनाको प्रतिस्पर्धा
महामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार बनेका छन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालबीच प्रतिस्पर्धा हुने भएको छ।
सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ। खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदी प्रतिस्पर्धामा छन्।
खसआर्यतर्फ जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले उम्मेदवारी दिएका छन्। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ प्रतिस्पर्धामा छन्।
मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनीषकुमार मिश्र र मुक्तकुमारी यादव उम्मेदवार बनेका छन्।
दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली चुनावी मैदानमा छन्। थारू सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।
मुस्लिम सहमहामन्त्रीमा फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमान तथा महिला सहमहामन्त्रीमा नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुनेछ।
२९७ सदस्यीय केन्द्रीय समिति
संशोधित पार्टी विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ। जसमा २५ पदाधिकारीसहित २११ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन्। बाँकी सदस्य विधानअनुसार मनोनयन गरिनेछन्।
२५ पदाधिकारीमा एक सभापति, एक वरिष्ठ उपसभापति, कम्तीमा एक महिलासहित चार उपसभापति, कम्तीमा एक महिलासहित तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था छ।
१५ सहमहामन्त्रीमध्ये नौ जना विभिन्न समावेशी क्लस्टरबाट र दुई जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। एक महिलासहित चार सहमहामन्त्री सभापतिबाट मनोनीत हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पछि मनोनीत गरिनेछ।
विधानले केन्द्रीय समितिमा एक प्रवक्ता र एक सहप्रवक्ताको व्यवस्था पनि गरेको छ।
२११ केन्द्रीय सदस्य निर्वाचित हुने
कांग्रेस महाधिवेशनबाट विभिन्न क्लस्टर, प्रदेश, क्षेत्र तथा समावेशी समूहबाट २११ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। खुलातर्फ ४५ र महिला खुलातर्फ १५ सदस्य निर्वाचित हुनेछन्।
यसैगरी आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपांगता लगायतका विभिन्न समूहबाट सदस्य निर्वाचित हुने व्यवस्था छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि महिला, खुला तथा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
नेपाली जनसम्पर्क समिति, श्रमिक, पेसागत तथा विषयगत क्षेत्र, काठमाडौं उपत्यका, प्रजातन्त्र सेनानी, सहिद तथा द्वन्द्व प्रभावित परिवारबाट समेत केन्द्रीय सदस्य चयन हुनेछन्। बाँकी केन्द्रीय सदस्य विधानअनुसार मनोनीत गरिनेछन्।
बिहीबार मतदान
कांग्रेसको निर्वाचन प्रक्रिया सोमबारदेखि सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यससँगै सभापतिदेखि विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ।