२०८३ असोज १६ शुक्रबार

काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

ई आर्थिक    शुक्रबार, असोज १६ २०८३
722
Shares
काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको कुल खेतीयोग्य जमिनमध्ये हालसम्म ४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बाँकी ५५ प्रतिशत जमिनमा अकासेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ।

जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धुलिखेलका अनुसार हालसम्म जिल्लाको सिँचाइयोग्य जमिनको ४५ दशमलव ३ प्रतिशत अर्थात् १२ हजार ९५६ हेक्टर क्षेत्रफलमा नियमित सिँचाइ सेवा पुगेको हो।

जिल्लामा कुल ५८ हजार १२३ हेक्टर खेतीयोग्य जमिन रहेकामा २८ हजार ७७१ हेक्टर जमिन सिँचाइयोग्य मानिन्छ। जसमध्ये हालसम्म करिब १३ हजार हेक्टरमा सिँचाइ सञ्जाल विस्तार भइसकेको डिभिजन प्रमुख इन्जिनियर राजकुमार तण्डुकारले जानकारी दिए। उनका अनुसार पछिल्लो एक वर्षम ९३२ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ।

उक्त अवधिमा नयाँ आयोजना, पुनर्निर्माण तथा मर्मतसम्भारमार्फत कुल ९३२ हेक्टर जमिनमा सिँचाइ सुविधा थप एवं सुदृढ गरिएको जनाइएको हो। प्रमुख इन्जिनियर तण्डुकारका अनुसार खानीखोला गाउँपालिका-२ स्थित भाङटारबेँसी बृहत् सिँचाइ योजनाअन्तर्गत पाँच र चौँरीदेउराली-२ नाग्रेस्थित दुतीबेँसी पुरानो कुलो योजनाको १० गरी १५ हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ संरचना बनाइएका छन्।

यस्तै, पुनर्निर्माणतर्फ १० हेक्टर तथा सिञ्चित क्षेत्र सुदृढीकरण (मर्मतसम्भार)बाट थप ९१७ हेक्टर खेतबारीमा पानी पुर्‍याइएको हो।

सुदृढीकरण कार्यक्रमअन्तर्गत पनौती-४ र ८ नम्बर वडाको लिलावती बृहत् सिँचाइ सुधार योजनाबाट ४० हेक्टर, पनौती-९ र १० को नौबिसे फाँटबाट २५ हेक्टर, पाँचखाल-१ र ३ को धनेको बाँध सहेले पोखरीबाट २० हेक्टर तथा बनेपा-२, ३ र ४ को माँझकुलो सिँचाइ योजनाबाट २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख इन्जिनियर तण्डुकारले बताए।

अन्य विभिन्न योजनाको मर्मतसम्भारबाट मात्रै ८१२ हेक्टर जमिनमा सिँचाइ सुदृढ भएको कार्यालयले जनाएको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा नदी नियन्त्रणतर्फ तीन किलोमिटर पक्की नहर निर्माण, १२ किमी ७१२ मिटर लम्बाइमा एचडीपीई, जीआई तथा ह्युम पाइप जडान गरिएको छ भने १७ वटा साइड इन्टेक, ३५ सिँचाइ संरचना र १६ सिँचाइ पोखरी निर्माण गरिएको प्रमुख इन्जिनियर तण्डुकारले बताए।

प्रमुख इन्जिनियर तण्डुकारका अनुसार पहिरो तथा नदी नियन्त्रणतर्फ ६४३ मिटर ग्याबिन, ३३ मिटर आरसीसी रिटेनिङ, करिब सात किमी प्लम्प कंक्रिट तथा आधा किमी आरआरएम रिटेनिङ-वाल निर्माण गरिएको छ। यस्तै नवीकरणीय ऊर्जा प्रवर्द्धनतर्फ ३५ सोलार स्ट्रिट लाइट तथा एक सेट सोलार लिफ्ट पम्प प्रणाली जडान गरिएको छ।

गत आर्थिक वर्षमा सञ्चालित कुल १०७ वटा सतह सिँचाइ आयोजनामध्ये ४५ वटामा पानी सञ्चालन भइसकेको छ भने ४९ वटा नदी/पहिरो नियन्त्रण तथा बस्ती संरक्षण योजनामध्ये १३ वटाको निर्माण सम्पन्न भएका प्रमुख इन्जिनियर तण्डुकारले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij