२०८३ असोज १६ शुक्रबार

स्याउको अत्यधिक खपत हुने समयमै मुस्ताङका किसानलाई धक्का, बेनी-जोमसोम सडक सञ्चालन नहुँदा चिन्तित

ई आर्थिक    शुक्रबार, असोज १६ २०८३
627
Shares
स्याउको अत्यधिक खपत हुने समयमै मुस्ताङका किसानलाई धक्का, बेनी-जोमसोम सडक सञ्चालन नहुँदा चिन्तित

मुस्ताङ। केहीदिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्।

सबैभन्दा बढी स्याउ खपत हुने समयमा सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा बढी मर्कामा परेका हुन्। दसैँ-तिहार लगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा म्याग्दी क्षेत्रमा भएको सडक अवरुद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ।

अहिले मुस्ताङका बारी तथा बगान क्षेत्रमा हाँगै भाँचिएला जसरी लटरम्म नुहिरहेको पाकेको अवस्थाका स्याउ देख्न पाइन्छ। सडक अवरुद्धको प्रत्यक्ष असर मुस्ताङमा स्याउको बजारीकणमा परेको छ।

म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्ता लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोबाट सडक संरचनामा क्षति हुँदा एक सातादेखि उक्त सडक अवरुद्ध छ। छिटो पाक्ने अर्ली प्रजातिका भदौ १५ गते र ढिलो प्रजातिका स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्ने जिल्लास्तरीय निर्णय थियो।

हरितालिका तीजअघि मुस्ताङबाट आशिंकरुपमा यहाँको स्याउको बजारीकरण गरिएता पनि ८० प्रतिशत बढी बजारीकरण हुन बाँकी नै छ। धमाधम स्याउ टिपेर बजार पठाउने तयारी चलिरहँदा सडक अवरुद्ध भएसँगै यहाँ उत्पादित स्याउको बजारीकरणमा समस्या परेको हो।

मुस्ताङमा औसत बर्सेनि सात हजार मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ। यहाँका किसानले परम्परागत लोकल स्याउ र उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गरिरहेका छन्। स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा यसपटक सडक अवरुद्धका कारण किसान र व्यापारी स्याउको व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्तित रहेको पाइएको छ।

स्थानीय घरपझोङ-५ ढुम्बा अब्बल किसान कर्म गुरुङ सडक अवरुद्ध भएकाले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्छन्। सडक अवरुद्ध हुँदा इन्धन र विद्युत आपूर्ति समेत बन्द भएकोले टिपाइ गरिएको स्याउ समेत चिस्यान गृहमा राख्न नपाएको किसानको गुनासो छ।

झन्डै सातसय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालन गुरुङ टिपिएको स्याउ कुहिने डर भएको बताउँछन्। ‘अवरुद्ध सडकले किसानको मेहिनत त्यसै खेर जाने जस्तो देखियो, बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो किसान गुरुङ भन्छन्, ‘जतिसक्दो बाटो खुलाउन सके सबैभन्दा बढी राहत किसानलाई हुने थियो।’

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेस्थित आइपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनका अनुसार बेनी-जोमसोम सडक अवरुद्धसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत पूर्णरुपमा ठप्प भएको जानकारी दिए। तीजको छेकोमा ५० प्रतिशत स्याउ बिक्री गरिसकेका स्याउ तुलाचनले दसैँअघि बाँकी रहेको ५० प्रतिशत स्याउ बजार पठाउने तयारी गरिरहेकै बेला सडक बन्द भयो।

उत्पादनका हिसाबले यस पटक स्याउबाट किसान र व्यापारी दुवै लाभान्वित भए पनि ढुवानी रोकिँदा यसको मार दुवैलाई पर्ने निश्चित छ।

धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि स्याउको व्यापारका लागि तीन सातादेखि मुस्ताङमा छन्। तीन दशकदेखि मुस्ताङको स्याउ व्यापारमा गरिरहेका उनलाई यसपटक भने व्यापार नै चौपट हुने हो कि भन्ने डर छ।

घरपझोङ र बारागुङ मुक्तिक्षेत्रको आधा दर्जन बढी बगैँचामा करोडभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएका तामाङले मुस्ताङमा संकलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको गुनासो गरे। यहाँको स्याउका लागि जिल्ला बाहिरका ५० भन्दा बढी र स्थानीय २० भन्दा बढी व्यक्तिले स्याउको व्यापार गरिरहेका छन्।

व्यापारीले भदौअगावै बगैँचामा स्याउको मूल्यांकन गरी किसानलाई आशिंक पेस्की दिइ स्याउ संकलन, ग्रेडिङ र प्याकेजिङ गरी ढुवानी गर्ने यस क्षेत्रमा अभ्यास छ। अहिले व्यापारी कहिले बाटो खुला र स्याउ बजार पठाउन पाइएला भन्ने पर्खाइमा छन्।

सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित बनेको छ। दसैँअघि हजारौँ पर्यटक मुस्ताङ आउने हुँदा स्थानीय किसानले खरिद गरेर उनीहरुलाई उपलब्ध गराउने कार्य पनि यसपटक प्रभावित भएको छ। सडक अवरुद्धका कारण जिल्ला बाहिरबाट पर्यटक मुस्ताङ आउन नसक्दा स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय साना स्याउ व्यापारीको भनाइ छ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालका अनुसार सडक अवरुद्ध भएकाले स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाइएको बताए। प्रमुख डा अर्यालले सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको बताए। बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा क्षति भएकाले सुचारु गराउन एक हप्ता बढी समय लाग्ने बताए।

उनले सडक विभाग निर्देशानालय पोखराले सडक खुलाउन सबै सयन्त्र पारिचालित गरेको जानकारी दिए। सडक अवरुद्ध हुँदा उत्तरको छिमेकी मुलुक चीनसँग सडक सम्पर्क जोड्ने महत्त्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात मात्र होइन देशको ढुकुटीमा जम्मा हुने राजस्वसमेत प्रभावित भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij