काठमाडौं । पी.एल.ओ. ब्रान्डका ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चाल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिबाट प्रस्तुत विभिन्न प्रस्तावहरू अनुमोदन गरेको छ।
साधारणसभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट तथा सञ्चालकहरूको पारिश्रमिकसम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृत भएका छन्।
सभाले नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ।
यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारीलाई अघि बढाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ।
कम्पनीले आईपीओमार्फत पुँजी विस्तार गरी व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको जनाएको छ। आईपीओबाट प्राप्त हुने पुँजीलाई व्यवसाय विस्तार तथा आगामी योजनाहरू कार्यान्वयनमा उपयोग गर्ने कम्पनीको तयारी छ।
पी.एल.ओ. ब्रान्डअन्तर्गत ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको कम्पनीले आईपीओ निष्कासनपछि आफ्नो व्यवसाय विस्तारका लागि थप पुँजी परिचालन गर्ने लक्ष्य राखेको जनाएको छ।