काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न मिल्ने व्यवस्था सुरु गरेका छन्। आगामी असोज २५ गतेदेखि सुरु हुने बडादसैंलाई लक्षित गर्दै बैंकहरूले सीमित एटिएममा १०० रुपैयाँ दरका नयाँ नोट राख्न थालेका हुन्।
यसअघि अधिकांश बैंकका एटिएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिन्थ्यो। १०० रुपैयाँ तथा त्यसभन्दा साना दरका नोट आवश्यक पर्ने ग्राहकले बैंक तथा वित्तीय संस्थाका काउन्टरमा पुगेर नोट साट्नुपर्ने अवस्था थियो।
राष्ट्र बैंकको निर्देशन र बैंकहरूको प्राविधिक तयारीपछि बुधबारदेखि काठमाडौं उपत्यकाका केही प्रमुख स्थानमा रहेका एटिएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न सकिने भएको हो। यद्यपि सबै एटिएमबाट भने तत्काल १०० रुपैयाँका नोट निकाल्न सकिने छैन।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार विद्यार्थी तथा न्यून आय भएका सर्वसाधारणको सहजतालाई ध्यानमा राखेर बैंकहरूलाई आफ्ना केही एटिएममा १०० रुपैयाँ दरका नोट राख्न आग्रह गरिएको हो।
उनका अनुसार काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायत केही प्रमुख व्यापारिक तथा सार्वजनिक स्थाननजिक रहेका एटिएममा १०० रुपैयाँ दरका नयाँ नोट निकाल्न मिल्ने व्यवस्था मिलाइएको छ।
राष्ट्र बैंकका अनुसार केही बैंकहरूले आफ्ना कुल एटिएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँ दरका नोट राख्न सकिने जानकारी दिएका छन्।
दसैं, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा नयाँ तथा साना दरका नोट साट्न बैंकका काउन्टरमा सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ। घण्टौं लाइन बस्नुपर्ने अवस्थालाई कम गर्न र एटिएममार्फत साना दरका नोट उपलब्ध गराउन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई औपचारिक पत्रमार्फत आग्रह गरेको थियो।
राष्ट्र बैंकले पठाएको पत्रमा १०० रुपैयाँ दरका नोटसमेत एटिएमबाट वितरण गर्न सकिए बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने उल्लेख गरिएको थियो। उक्त पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको थियो।
तर सबै एटिएममा १०० रुपैयाँका नोट राख्न प्राविधिक रूपमा सम्भव नभएको बैंकरहरूले बताएका छन्। पुराना मोडलका अधिकांश एटिएममा दुईवटा मात्र क्यासेट वा च्याम्बर हुने भएकाले ती मेसिनमा सामान्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट राखिँदै आएको छ।
पछिल्लो समय जडान गरिएका नयाँ प्रविधिका एटिएममा भने तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले १०० रुपैयाँ दरका नोटसमेत राख्न सकिन्छ। राष्ट्र बैंकको निर्देशनपछि केही बैंकले उपलब्ध अतिरिक्त क्यासेटलाई क्यालिब्रेट गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन्।
सम्बन्धित बैंकरहरूका अनुसार नेपालमा सञ्चालनमा रहेका कुल एटिएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका छन्। त्यसैले तत्कालका लागि यिनै मेसिनमार्फत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउने तयारी गरिएको छ।
एटिएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट निकाल्न सकिने भएपछि थोरै रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका सर्वसाधारण तथा खुद्रा रकम चाहिने ग्राहकलाई सहज हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ। साथै, चाडपर्वका बेला बैंक काउन्टरमा हुने भीडसमेत कम गर्न यस व्यवस्थाले सहयोग पुग्ने विश्वास गरिएको छ।