२०८३ असोज १५ बिहिबार

लालीगुराँस र लुनिभा सहकारीका घरजग्गा लिलाममा, न्यूनतम नै मूल्य करोडसम्म

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
152
Shares
लालीगुराँस र लुनिभा सहकारीका घरजग्गा लिलाममा, न्यूनतम नै मूल्य करोडसम्म

काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा दर्ता रहेका घरजग्गा लिलाम बिक्रीमा राखिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुवै सहकारीका नाममा रहेका विभिन्न स्थानका घरजग्गा बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो।

समितिका अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारीको नाममा भक्तपुरको ताथली–४ स्थित कित्ता नम्बर ६४७ मा रहेको ०–८–३–३ क्षेत्रफलको जग्गा बिक्रीमा राखिएको छ। उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँका दरले कुल ९८ लाख ३१ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ। जग्गाको अगाडिपट्टि २० फिटे ढलान सडक रहेको समितिले जनाएको छ।

त्यस्तै, लालीगुराँसकै नाममा ललितपुर महानगरपालिका–२२ मा रहेको कित्ता नम्बर ११३९ को ०–०–३–० क्षेत्रफलको जग्गा र त्यसमा बनेको घरसमेत लिलाम बिक्रीमा राखिएको छ। उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकिएको छ।

यसैगरी, लुनिभा बहुउद्देश्यीय सहकारीको नाममा काठमाडौं महानगरपालिका–१५ स्थित कित्ता नम्बर ७९ को ३१.७९ वर्गमिटर क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर पनि बिक्रीमा राखिएको छ। उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ४० लाख रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकले तिर्नुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक नगरेपछि संस्थाको नाममा रहेका सम्पत्ति लिलाम बिक्री गर्न लागिएको समितिले जनाएको छ।

सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। त्यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ।

समितिले लिलाममा राखिएका घरजग्गाको न्यूनतम मूल्य चलनचल्तीको मूल्यका आधारमा निर्धारण गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij