२०८३ असोज १४ बुधबार

राइनासका तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ई आर्थिक    बुधबार, असोज १४ २०८३
209
Shares
राइनासका तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त रकम तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेविरुद्ध १८ लाख ३९ हजार २५६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यस्तै, राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीनकुमार बरालविरुद्ध १६ लाख ७२ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नगरपालिकाका तत्कालीन विभिन्न वडाध्यक्षविरुद्ध पनि फरक–फरक बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

  • वडा नं. १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपानेविरुद्ध ८९ हजार १८५ रुपैयाँ

  • वडा नं. ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङविरुद्ध १ लाख २४ हजार ८५९ रुपैयाँ

  • वडा नं. ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमालविरुद्ध ८२ हजार ५० रुपैयाँ

  • वडा नं. ६ का तत्कालीन वडाध्यक्ष रुकबहादुर तामाङ गुरुङविरुद्ध २ लाख ३९ हजार १६ रुपैयाँ

  • वडा नं. ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीविरुद्ध २ लाख ५३ हजार २८६ रुपैयाँ

  • वडा नं. ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछानेविरुद्ध १ लाख २१ हजार २९२ रुपैयाँ

कार्यक्रम नै नगरी रकम हिनामिना गरेको आरोप

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकाले सशर्त अनुदान प्राप्त गरेको थियो।

तर उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नगरी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा आरोपितहरूविरुद्ध फरक–फरक बिगो कायम गरेको जनाएको छ।

उनीहरूलाई कसुरअनुसार कैद सजाय, बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको बिगो रकम असुलउपर गर्न मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij