काठमाडौं । अविरल वर्षाका कारण पहिरो तथा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा सवारी आवागमन क्रमशः सहज बन्दै गएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै राजमार्गका विभिन्न स्थानमा देखिएको पहिरो तथा सडक भासिएको स्थानमा अवरोध हटाउने काम भइरहेको जनाएको छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।
पहिरोको जोखिम भने कायमै
वर्षा रोकिए पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सवारी चलाउँदा प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।
राजमार्गमा अवरोध हटाउने तथा सडक सञ्चालनलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रशासनले जनाएको छ।
