काठमाडौं । चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका नेपालका प्रमुख भन्सार नाकाहरू प्राकृतिक विपत्तिका कारण प्रभावित भएका छन्। रसुवागढी र तातोपानी नाका प्रभावित रहेकै बेला कोरला नाका जोड्ने सडकखण्डसमेत पहिरो र बाढीका कारण अवरुद्ध भएपछि चीनसँगको व्यापारिक आवागमन थप चुनौतीपूर्ण बनेको छ।
भन्सार विभागका अनुसार असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको, सडक कटान भएको तथा पुलका पहुँचमार्ग बगेका छन्।
लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी, बेगखोला, महभीर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलालगायतका स्थानमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको विभागले जनाएको छ।
त्यस्तै, पोखरेबगर पुलको पहुँचमार्ग बग्नुका साथै तातोपानी कुण्ड, नार्च्याङ र खामभित्तामा नदीको उच्च बहावका कारण सडक कटान भएको छ। सडक विभाग तथा मातहतका निकायले अवरुद्ध सडक खुलाउने कामलाई तीव्रता दिएका छन्। केही स्थानमा सडक सञ्चालनमा आइसकेका छन्।
वर्षा रोकिएर थप अवरोध नभए तीनदेखि छ दिनभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी सडक विभागले दिएको भन्सार विभागले जनाएको छ। सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने वस्तुको आयात–निर्यातमा प्रत्यक्ष असर परेको छ।
एकपछि अर्को नाका प्रभावित
चीनसँगको व्यापारका लागि नेपालमा रसुवागढी, तातोपानी, कोरला, हिल्सा, किमाथांका र ओलाङचुङगोला लगायतका सीमा नाका महत्त्वपूर्ण छन्। तर, अधिकांश नाका भौगोलिक कठिनाइ, कमजोर पूर्वाधार तथा प्राकृतिक विपत्तिको जोखिममा छन्।
यसअघि नेपाल–चीन व्यापारको प्रमुख नाकाका रूपमा रहेको रसुवागढी नाका भोटेकोशीमा आएको बाढीका कारण सडक तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित भएको थियो। रसुवागढी प्रभावित भएपछि चीनतर्फ रोकिएका नेपाली नागरिक, सवारीसाधन तथा व्यापारिक सामानलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने प्रयास गरिएको थियो।
त्यसक्रममा मुस्ताङको कोरला नाकालाई समेत वैकल्पिक प्रवेशद्वारका रूपमा प्रयोग गर्न थालिएको थियो। कोरला नाकाबाट विद्युतीय सवारीसाधन तथा चिनियाँ सामान आयात भइरहेका बेला पछिल्लो सडक अवरोधले त्यसमा समेत समस्या थपिएको हो।
तातोपानीको विकल्प खोज्नुपर्ने बहस
सिन्धुपाल्चोकस्थित तातोपानी–खासा नाका नेपाल र चीनबीचको ऐतिहासिक तथा पुरानो व्यापारिक मार्ग हो। २०७२ सालको भूकम्पपछि लामो समय प्रभावित भएको यो नाका पुनः सञ्चालनमा आए पनि पछिल्लो समय प्राकृतिक विपत्ति र पूर्वाधारसम्बन्धी समस्याका कारण यसको सञ्चालन नियमित हुन सकेको छैन।
यसैबीच रसुवागढी र तातोपानी दुवै नाका प्रभावित भएपछि कोरला नाकामाथि व्यापारिक निर्भरता बढाइएको थियो। तर, कोरला जोड्ने सडकसमेत अवरुद्ध भएपछि चीनसँगको व्यापारका लागि वैकल्पिक मार्ग र नाकाको आवश्यकता थप स्पष्ट भएको छ।
नेपाल र चीनबीच परम्परागत रूपमा १५ भन्दा बढी स्थानीय सीमा नाका रहे पनि तीमध्ये धेरै नाका सीमावर्ती बासिन्दाको आवतजावत र स्थानीय व्यापारका लागि मात्र प्रयोग हुँदै आएका छन्। ठूला व्यापारिक गतिविधिका लागि आवश्यक सडक, भन्सार, सुरक्षा तथा अन्य पूर्वाधार सबै नाकामा पर्याप्त छैनन्।
अन्य नाकाको अवस्था पनि कमजोर
हुम्लास्थित हिल्सा–पुराङ नाका स्थानीय व्यापार तथा मानसरोवर–कैलाश यात्राका लागि महत्त्वपूर्ण भए पनि ठूला व्यापारिक गतिविधि सञ्चालन गर्न आवश्यक पूर्वाधार पर्याप्त छैन।
त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोला–रिउ नाका चीनको तिब्बत क्षेत्रसँग जोडिएको महत्त्वपूर्ण सीमा बिन्दु भए पनि हाल मुख्यतः सीमावर्ती बासिन्दाको व्यापार तथा आवतजावतमा केन्द्रित छ।
सङ्खुवासभाको किमाथांका नाकालाई भविष्यमा नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना रहे पनि भौगोलिक विकटता र पूर्वाधार अभावका कारण हाल ठूलो परिमाणको व्यापार सञ्चालन गर्न कठिनाइ छ।
प्रमुख नाकाहरू प्राकृतिक विपत्तिका कारण पटक–पटक प्रभावित हुन थालेपछि नेपाल–चीन व्यापारलाई दिगो र निर्बाध बनाउन सडक तथा सीमा पूर्वाधारमा दीर्घकालीन लगानीसँगै वैकल्पिक व्यापारिक मार्ग विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।