रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउसमा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि आइतबार बिहान ९ बजेसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
नेपाली सेनाको उद्धार टोलीले पावरहाउसको कन्ट्रोल रूमसम्म पुग्ने प्रयास गर्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। शनिबार ट्रान्सफर्मर क्याभर्न हुँदै कन्ट्रोल रूममाथिको भागसम्म खोजी गरिए पनि सम्पर्कविहीन कर्मचारीहरू फेला पर्न सकेका थिएनन्।
संयुक्त उद्धार टोली पावरहाउसको पाँचौँ र छैटौँ तलासम्म पुग्न सफल भए पनि अधिकांश भाग लेदोले भरिएका कारण उद्धारमा कठिनाइ भइरहेको छ। आज पनि लेदो हटाउँदै कन्ट्रोल रूमभित्र प्रवेश गरेर खोजी कार्य अघि बढाइने जनाइएको छ।
यस्तै, पावरहाउस बाहिर सम्पर्कविहीनहरूको खोजीका लागि दक्ष रक क्लाइम्बरहरूको टोलीले घट्टेखोला तथा आसपासका क्षेत्रमा ग्राउन्ड सर्च गरिरहेको छ।
उद्धार टोलीले पावरहाउसको भित्री भागदेखि बाहिरी क्षेत्रमा समेत खोजीलाई तीव्रता दिए पनि बिहान ९ बजेसम्म सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे पत्ता लाग्न सकेको छैन।
उद्धार टोलीले कठिन भौगोलिक अवस्था, बाक्लो लेदो र जोखिमपूर्ण संरचनाबीच खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।