२०८३ भाद्र १५ सोमबार

रान स्थापना दिवस : पोखराबाट सुरु भयो ‘आयुर्वेद चौतारी अभियान’, ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
1K
Shares
रान स्थापना दिवस : पोखराबाट सुरु भयो ‘आयुर्वेद चौतारी अभियान’, ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण

काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (RAAN) ले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर ‘आयुर्वेद चौतारी अभियान’ सुरु गरेको छ।

आयुर्वेद, जडीबुटी तथा योगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत पोखरामा ज्येष्ठ नागरिकलाई विभिन्न आयुर्वेदिक औषधि तथा मालिस गर्ने तेल निःशुल्क वितरण गरिएको छ।

पोखरा महानगरपालिका–११ स्थित शिवशक्ति विद्यालय नजिकको चौतारीमा दैनिक २–४ घण्टा भलाकुसारी गरेर बस्ने करिब २५ जना ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम गरिएको हो। अभियानअन्तर्गत च्यावनप्रास, अश्वगन्धा, अमला, यष्टिमधु, गुडुची, त्रिफला तथा विन जेललगायतका सामग्री निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

RAAN का केन्द्रीय कार्यवाहक अध्यक्ष कृष्ण राउतसहित गण्डकी प्रदेश र कास्की जिल्ला टिम ज्येष्ठ नागरिकलाई पूर्वजानकारी नदिई चौतारीमा पुगेर कार्यक्रम सुरु गरेका थिए। संस्थाले ज्येष्ठ नागरिक बसेकै स्थानमा पुगेर उनीहरूकै सहभागितामा कार्यक्रम सञ्चालन गर्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ।

९० वर्षीय ज्येष्ठ नागरिक टुकप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सचिव नेत्र नयन भुजेल, कास्की जिल्ला अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सुरेश पूर्वे, आयुर्वेद स्वास्थ्यकर्मी समाज कास्कीका अध्यक्ष के.बी. थापा, फ्ल्यूर हिमालय कम्पनीका प्रतिनिधि शिव सिग्देललगायतको उपस्थिति थियो। कार्यक्रममा ८० देखि ९० वर्ष उमेर समूहका करिब २५ जना ज्येष्ठ नागरिक सहभागी थिए।

कार्यक्रम सञ्चालन गर्दै RAAN का केन्द्रीय कार्यवाहक अध्यक्ष राउतले च्यावन ऋषिको नामबाट ‘च्यावनप्रास’ नाम रहन गएको विषयमा जानकारी गराएका थिए। उनले आयुर्वेदको मुख्य उद्देश्य रोग लागेपछि उपचार गर्नु मात्र नभई शरीरलाई निरोगी राख्नु र रोग लाग्न नदिनु रहेको बताए।

राउतले आयुर्वेदको उद्देश्य, मर्म र परिकल्पनालाई समाजको तल्लो तहसम्म पुर्‍याउन यस्ता अभियान आवश्यक रहेको बताउँदै देशभरका RAAN का टोलीलाई समुदायमा पुगेर अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

त्यसैगरी, वरिष्ठ चिकित्सक डा. सुरेश पूर्वेले अश्वगन्धा, त्रिफला, च्यावनप्रास, अमला लगायतका आयुर्वेदिक औषधि तथा जडीबुटीको उपयोगबारे जानकारी दिएका थिए। उनले भान्सामा प्रयोग हुने रैथाने जडीबुटीयुक्त खाना तथा मसलाको महत्वबारे समेत ज्येष्ठ नागरिकलाई जानकारी गराएका थिए।

कार्यक्रममा गण्डकी प्रदेश सचिव नेत्र नयन भुजेल, आयुर्वेद स्वास्थ्यकर्मी समाज कास्कीका अध्यक्ष के.बी. थापा तथा कम्पनी प्रतिनिधि शिव सिग्देलले शुभकामना मन्तव्य दिँदै RAAN को नयाँ अभियानले आयुर्वेदलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा भजन–कीर्तनसमेत गरिएको थियो। RAAN ले ‘आयुर्वेद चौतारी अभियान’लाई आगामी दिनमा देशका विभिन्न स्थानमा विस्तार गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij