२०८३ भाद्र १६ मंगलबार

रसुवा बाढीपछि स्वास्थ्य जोखिमको चेतावनी, जलीय जीव र माछा नखान आग्रह गर्दै जारी भयो सातबुँदे निर्देशन

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
741
Shares
रसुवा बाढीपछि स्वास्थ्य जोखिमको चेतावनी, जलीय जीव र माछा नखान आग्रह गर्दै जारी भयो सातबुँदे निर्देशन

नवलपुर : भदौ १० गते आएको रसुवा बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सर्वसाधारणका लागि सातबुँदे निर्देशन जारी गरेको छ।

बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य जीवजन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने भन्दै कार्यालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

दूषित पानी र माछा नखान आग्रह

जनस्वास्थ्य कार्यालयले प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा अन्य जलीय जीव सेवन नगर्न आग्रह गरेको छ। त्यस्तै, प्रदूषित पानीमा पौडी नखेल्न पनि अनुरोध गरिएको छ।

दूषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ लगायतका झाडापखालाजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न कार्यालयले सुझाएको छ।

बाढीमा डुबेको खाना नखान आग्रह

कार्यालयले खाना राम्रोसँग पकाएर मात्र खान तथा काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्न आग्रह गरेको छ।

बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ।

लामखुट्टे र सर्पदंशको जोखिम बढ्न सक्ने

बाढीपछि डेंगु, जापानिज इन्सेफ्लाइटिस लगायत लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्न सक्ने कार्यालयले जनाएको छ।

यसबाट बच्न घर वरिपरि पानी जम्न नदिन, झुल प्रयोग गर्न तथा लामो बाहुला भएका कपडा लगाउन आग्रह गरिएको छ। राति हिँडडुल गर्दा टर्चलाइट प्रयोग गर्न र सुत्नुअघि ओछ्यान तथा वरपरको स्थान जाँच गर्न पनि कार्यालयले अनुरोध गरेको छ।

बाढी तथा प्राकृतिक विपद्पछि सर्पदंशको जोखिमसमेत बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।

मानसिक स्वास्थ्यमा पनि ध्यान दिन आग्रह

प्राकृतिक विपद्पछि मानिसमा तनाव, डर, चिन्ता तथा अन्य मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिन कार्यालयले आग्रह गरेको छ।

नदी तथा खोला किनारमा मानव शव वा मरेका जीवजन्तु फेला परेमा आफैं नछोई तत्काल सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई जानकारी गराउन जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

बाढीपछि पानी तथा खाद्यजन्य संक्रमण र लामखुट्टे तथा अन्य जीवजन्तुबाट फैलिन सक्ने रोगको जोखिम बढ्ने भएकाले सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij