२०८३ भाद्र १५ सोमबार

भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि विदेशी परिवार नेपालमा, अध्यागमनमा खोजीको चाप

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
133
Shares
भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि विदेशी परिवार नेपालमा, अध्यागमनमा खोजीको चाप

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन्। बेपत्ता विदेशी नागरिकका आफन्तले अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्रदेखि अध्यागमन विभाग र घटनास्थल आसपाससम्म पुगेर खोजी गरिरहेका छन्।

अध्यागमन विभागका अनुसार गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि नेपाल प्रवेश गरेका तथा नेपालबाट बाहिरिएका व्यक्तिको विवरण माग्ने क्रम बढेको छ।

विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार बाढीपछि नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको खबर सार्वजनिक भएसँगै विभिन्न देशका राजदूतावास तथा कन्सुलरमार्फत जानकारी लिने क्रम बढेको छ। कतिपय बेपत्ता नागरिकका आफन्त भने स्वयं अध्यागमन कार्यालय पुगेर आफ्ना आफन्तको यात्रा विवरण खोजिरहेका छन्।

भारतदेखि अमेरिकासम्मका परिवार नेपालमा

लम्सालका अनुसार तीर्थयात्रा, पर्यटन तथा विभिन्न कामका सिलसिलामा नेपाल–चीन सीमाक्षेत्र पुगेका विदेशी नागरिकका आफन्त नेपाल आएर खोजीमा जुटेका छन्।

उनीहरू विभिन्न अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र, अध्यागमन विभाग तथा घटनास्थल आसपास पुगिरहेका छन्। कतिपयले नेपाल प्रवेश तथा बाहिरिएको विवरण मागेर खोजी गरिरहेका छन् भने कतिपयले ट्रेकिङ एजेन्सीमार्फत आफन्तको यात्रा विवरण संकलन गरी अस्पताल तथा शव पहिचान केन्द्रमा तस्बिर र अन्य विवरण उपलब्ध गराइरहेका छन्।

अध्यागमन विभागका अनुसार आफन्तको खोजीमा नेपाल आउने विदेशी नागरिकमध्ये भारत, चीन, अमेरिका, युक्रेन, माल्टा, बेलायत, मलेसिया र अस्ट्रेलिया लगायत देशका परिवार बढी छन्।

बाढी आउनुअघि ८९ जना चीनतर्फ गएका थिए

अध्यागमन विभागका प्रवक्ता लम्सालका अनुसार भदौ १० गते बुधबार बिहान बाढी आउनुअघि टिम्बुरेस्थित अध्यागमन कार्यालयबाट नेपाली तथा विदेशी गरी ८९ जना चीनतर्फ प्रस्थान गरेका थिए। सोही दिन तीन जना नेपाली नागरिक नेपाल प्रवेश गरेका थिए।

उनका अनुसार बिहान ८ः३५ बजेसम्म नेपालबाट बाहिरिने र नेपाल प्रवेश गर्ने यात्रुको जाँचपास सम्पन्न भइसकेको थियो।

त्यस समयसम्म ३२ जना नेपाली, १२ जना चिनियाँ, नौ जना अमेरिकी, ३३ जना भारतीय तथा क्यानडा, इटाली र अस्ट्रेलियाका एक–एक जना पर्यटक नेपाल–चीन सीमाक्षेत्रको ग्यिरोङ बन्दरगाहतर्फ प्रवेश गरेका थिए।

शव पहिचानमा प्रहरीलाई चुनौती

बाढीपछि ठूलो सङ्ख्यामा शव फेला परेकाले पहिचान प्रक्रिया पनि चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

विदेशी नागरिकको खोजी तथा उद्धारमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङका अनुसार बाढीमा परेर मृत्यु भएकामध्ये केही शव विदेशी नागरिकको हुन सक्ने देखिए पनि लामो समय पानी र हिलोमा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ।

शवको पहिचानका लागि आफन्तबाट प्राप्त तस्बिर, व्यक्तिगत विवरण तथा अन्य प्रमाणका आधारमा प्रक्रिया अघि बढाइएको छ।

थप पाँच विदेशी पर्यटकको उद्धार

बाढीमा हराएका व्यक्तिको खोजी तथा उद्धारलाई सरकारले तीव्रता दिइरहेका बेला आइतबार थप पाँच जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये तीन जना स्पेनी, एक जना अमेरिकी र एक जना बेल्जियमका नागरिक छन्।

बोर्डका अनुसार आइतबारसम्म बाढी प्रभावित क्षेत्रबाट २८९ जना पर्यटकको उद्धार गरिएको छ। अझै ५९१ जना पर्यटक सम्पर्कबाहिर रहेको बोर्डले जनाएको छ।

बेपत्ता पर्यटकको खोजी, शव पहिचान र उद्धार कार्य जारी रहेकाले सम्पर्कबाहिर रहेका व्यक्तिको वास्तविक अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij