२०८३ भाद्र १३ शनिबार

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, भित्र हावा पठाउन सुरु

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
133
Shares
त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, भित्र हावा पठाउन सुरु

काठमाडौँ । त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि महत्वपूर्ण प्रगति भएको छ। गृहमन्त्री सुदन गुरुङले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म उद्धार टोली पुग्न सफल भएको र त्यहाँबाट सानो प्वाल बनाएर सुरुङभित्र हावा पठाउन सुरु गरिएको जानकारी दिनुभएको छ।

गृहमन्त्री गुरुङका अनुसार अब उक्त स्थानबाट थप खन्ने काम अघि बढाइनेछ। त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फसेका व्यक्तिको उद्धार गर्ने तयारी भइरहेको छ।

उहाँले सार्वजनिक गर्नुभएको सूचनामा भन्नुभएको छ, “हामी सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउने छौँ।”

सुरुङभित्र रहेका व्यक्तिको जीवनरक्षालाई प्राथमिकतामा राखेर उद्धार अभियानलाई तीव्र बनाइएको गृहमन्त्री गुरुङले बताउनुभएको छ। सुरुङभित्र हावा पठाउने व्यवस्था मिलाइनुलाई उद्धार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यसैबीच, बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी छ। जोखिममा रहेका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिइएको छ।

गृहमन्त्री गुरुङ स्वयं प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यको स्थलगत अनुगमन तथा सुरक्षा निकायबीच समन्वय गरिरहनुभएको छ। उहाँले उद्धारमा खटिएका सुरक्षाकर्मीको अवस्था बुझ्नुका साथै प्रभावित नागरिकसँग भेटेर तत्काल गर्नुपर्ने कामबारे सम्बन्धित निकायलाई निर्देशन दिइरहनुभएको छ।

सुरुङको माथिल्लो भागसम्म पहुँच स्थापित भएसँगै अब थप खन्ने कार्यलाई सुरक्षित रूपमा अघि बढाएर उद्धार टोली सुरुङभित्र पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij