फायल फोटो
धादिङ । रसुवामा आएको बाढीले बगाएर धादिङसम्म पुर्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद गरेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रसुवामा आएको बाढीका कारण बैंकको सेफसमेत बगाएर धादिङसम्म पुगेको थियो। सेफ फेला परेपछि त्यसलाई खोलेर रकम निकालिएको विषय सार्वजनिक भएपछि घटनाबारे चासो बढेको थियो।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले समेत लगातार आवाज उठाउँदै आएकी थिइन्। सेफ फेला परेपछि त्यसबाट रकम निकालिएको घटनाबारे उनले सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएकी थिइन्।
प्रहरीले पक्राउ परेकाहरूबाट बरामद रकम तथा घटनासँग सम्बन्धित अन्य विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।