२०८३ भाद्र १२ शुक्रबार

नेपाल-चीन सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुट्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
152
Shares
नेपाल-चीन सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुट्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

रसुवा ।  नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेको छ ।  चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ताल फुटेसँगै तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार तथा राहतमा परिचालित टोलीलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना प्राप्त भएको भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

नेपाल प्रहरीले समेत नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ।

चीनले तिब्बत–नेपाल सीमा क्षेत्रमा आएको आकस्मिक बाढीपछि लेभल–४ आपत्कालीन सतर्कता जारी गरेको जनाएको छ। दुई नदीको संगम क्षेत्रमा नयाँ अवरोध ताल बनेकाले पानीको मात्रा बढ्दै गएमा पुनः फुट्न सक्ने जोखिम रहेको चिनियाँ पक्षको भनाइ छ।

ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले आसपासका क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ।

तालको अवस्था र सम्भावित जोखिम मूल्यांकन गर्न चीनले इन्जिनियर तथा प्राविधिक टोली परिचालन गरेको छ। टोलीले हवाई सर्वेक्षण तथा थ्री–डी मोडलिङमार्फत तालको आकार, पानीको मात्रा, बाँधको अवस्था र फुट्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ।

नेपालतर्फ पछिल्लो बाढी र पहिरोका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। सीमा क्षेत्रमा पानीको बहाव बढ्नुका साथै नयाँ ताल बन्ने वा फुट्ने सम्भावना रहेकाले नदी आसपासका बस्तीमा निरन्तर निगरानी र उच्च सतर्कता आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij