काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितका लागि ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्ट वितरण गरेको छ।
स्थलगत निरीक्षणपछि डा. महतोले सञ्चारमाध्यममा देखिएभन्दा क्षति निकै भयावह रहेको बताए। उनले पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिने र त्यसपछि सरकारसँग समन्वय गरी पुनर्निर्माणमा सहयोग गर्ने जानकारी दिए।
उपाध्यक्ष राईले स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरिने बताइन्। एनआरएनएले नुवाकोटपछि अन्य प्रभावित जिल्लामा समेत राहत सामग्री पुर्याउने जनाएको छ।