२०८३ भाद्र ८ सोमबार

सुदूरपश्चिममा साउनमा ५ हजार सवारीसाधन कारबाहीमा, ४३ लाख राजस्व संकलन

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
722
Shares
सुदूरपश्चिममा साउनमा ५ हजार सवारीसाधन कारबाहीमा, ४३ लाख राजस्व संकलन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार सवारीसाधन कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशमा सो महिनामा ५ हजार २०२ सवारी कारबाही परेका हुन्।

सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए। यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए। दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए।

उनका अनुसार १८१ दुर्घटना चालकका कारण भएका छन् भने नौ मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन्। त्यसैगरी, सवारीसाधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्यांक रहेको छ।

‘ट्राफिक नियम उल्लंघन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,’ प्रवक्त विष्टले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ।’

त्यसैगरी, प्रहरीले १ करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ। प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी रु दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ। यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो।

अवैध वनपैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व संकलन भएको छ। अवैध पशुपक्षी नियन्त्रणबाट प्रहरीले रु एक लाख २६ हजार राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij