अकबरे खुर्सानीको उत्पादन मूल्य मात्रै ३ अर्ब १२ करोड, गोलभेँडा उत्पादनमा अग्रस्थान
हिले । धनकुटामा गत आर्थिक वर्षमा १ लाख ५७ हजार चार मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा पाँच हजार ९७८ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
वर्षभरि भएको खरिद–बिक्रीको औसत मूल्यका आधारमा जिल्लामा उत्पादित तरकारीको कुल मूल्य सात अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबर रहेको केन्द्रले जनाएको छ।
धनकुटामा सबैभन्दा बढी गोलभेँडा उत्पादन भएको छ। गत आर्थिक वर्षमा ३७ हजार चार सय मेट्रिक टन गोलभेँडा उत्पादन भएको तथ्याङ्क छ। त्यस्तै काउली १९ हजार १६८, अकबरे खुर्सानी १५ हजार छ सय, बन्दा १४ हजार ९६०, बोडी १५ हजार, मटर १० हजार दुई सय, रायो साग छ हजार पाँच सय र मुला पाँच हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ।
तरकारी उत्पादनको मूल्यतर्फ भने अकबरे खुर्सानी अग्रस्थानमा छ। जिल्लामा उत्पादित अकबरे खुर्सानीको मूल्य तीन अर्ब १२ करोड रुपैयाँ बराबर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
त्यस्तै गोलभेँडाको उत्पादन मूल्य ९३ करोड, बोडी ७५ करोड, काउली ६१ करोड ३३ लाख, पिरो खुर्सानी ३७ करोड, प्याज ३३ करोड, मटर ३० करोड, बन्दा १५ करोड र रायो साग १३ करोड रुपैयाँ बराबर रहेको कार्यालयको तथ्याङ्क छ।
अघिल्लो वर्षभन्दा उत्पादन घट्यो
धनकुटामा आर्थिक वर्ष २०८१/८२ मा एक लाख ६४ हजार २१८ मेट्रिक टन तरकारी उत्पादन भएको थियो। गत आर्थिक वर्षमा भने अघिल्लो वर्षको तुलनामा तरकारी उत्पादन घटेको देखिएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाका अनुसार धनकुटाको तरकारी उत्पादन कोशी प्रदेशका पहाडी जिल्ला भोजपुर, तेह्रथुम र सङ्खुवासभाको तुलनामा बढी छ।
धनकुटाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेँडा, मुला र विभिन्न जातका साग उत्पादन गर्दै आएका छन्। बजारको सहज पहुँच र सडक विस्तारका कारण व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको राना बताउनुहुन्छ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसमेत कृषि क्षेत्रमा लाग्ने क्रम बढेको उहाँको भनाइ छ।
पछिल्लो समय आधुनिक कृषि प्रविधि तथा टनेल खेतीले पनि किसानलाई व्यावसायिक तरकारी उत्पादनतर्फ आकर्षित गरेको कृषकहरू बताउँछन्।
भारतदेखि बङ्गलादेश र भुटानसम्म पुग्छ धनकुटाको तरकारी
धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ। धनकुटा र पाख्रीबास नगरपालिकाका केही क्षेत्रमा पनि व्यावसायिक तरकारी खेती हुँदै आएको छ।
जिल्लामा उत्पादित तरकारी सिधुवा बहुउद्देश्यीय सहकारी सङ्कलन केन्द्र, छथरजोरपाटी तथा गुठीटार तरकारी केन्द्र धनकुटालगायत करिब एक दर्जन सङ्कलन केन्द्रमार्फत बजारमा पुग्ने गरेको छ।
धनकुटाको तरकारी पूर्वी तराईका धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडका बजारमा बिक्री हुने गरेको छ। त्यहाँबाट भारत, बङ्गलादेश र भुटानसम्म समेत धनकुटामा उत्पादित तरकारी निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।