२०८३ साउन १७ आइतबार

स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्य १०० रुपैयाँमै उपलब्ध गराउन इप्पानको आग्रह

ई आर्थिक    आइतबार, साउन १७ २०८३
95
Shares
स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्य १०० रुपैयाँमै उपलब्ध गराउन इप्पानको आग्रह

जलविद्युत आयोजनाको सेयरमा स्थानीयलाई प्राथमिकता 

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन सम्पूर्ण सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।

इप्पानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) मा स्थानीयहरू लाभान्वित हुने उद्देश्यले १० प्रतिशत सेयर दिने कानुनी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउन इप्पानले सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरेको छ।

इप्पानले जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने तथा आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयरको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

यदि स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्कासन गरिए स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ।

स्थानीय बासिन्दालाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद तथा अवरोध न्यून हुने, स्थानीय स्तरमा सहयोग र सहकार्य थप सुदृढ हुने तथा जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास संस्थाले व्यक्त गरेको छ। यसबाट स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्ने अवसर सुनिश्चित हुने, आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावमा समेत टेवा पुग्ने इप्पानको भनाइ छ।

इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न आग्रह गरेको छ।

साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा जलविद्युत क्षेत्रमा लगानीको वातावरण थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सेयर निष्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत आयोजनाहरूले भोगिरहेका समस्या समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटीको विकास गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij