२०८३ भाद्र २९ सोमबार

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

ई आर्थिक    शुक्रबार, असार १९ २०८३
760
Shares
एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम र कर्णाली प्रदेशका चारवटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक तथा प्राविधिक सामग्री सहयोग गरेको छ।

बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लामा सञ्चालित विद्यालयहरूको शैक्षिक गुणस्तर र प्रविधिमा पहुँच बढाउने उद्देश्यले ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टरहरू हस्तान्तरण गरेको हो।

यस सहयोग अन्तर्गत बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५३ भन्दा बढी विद्यार्थीहरूको सिकाइलाई आधुनिक बनाउन दुई थान प्रोजेक्टर प्रदान गरेको छ। बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालयका १ हजार ८७ भन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी बैंकका शाखा प्रमुख ओमकार घर्ती मगरले प्रधानाध्यापक कम प्रसाद देवकोटालाई एक थान प्रिन्टर उपलब्ध गराएका छन्।

प्रविधिमैत्री शिक्षालाई थप सबल बनाउन बैंकले अछाम जिल्लाका दुई विद्यालयहरूलाई पनि महत्त्वपूर्ण सहयोग गरेको छ। मंगलसेन नगरपालिकामा अवस्थित मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र अन्नपूर्ण माध्यमिक विद्यालय दुवैलाई जनही २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर प्रदान गरिएको छ।

यी सामग्रीहरू बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई हस्तान्तरण गर्नुभएको हो। बैंकले उपलब्ध गराएको यस प्राविधिक सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयहरूको प्रशासनिक कार्य र डिजिटल शिक्षाको जगलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij