२०८३ साउन १० आइतबार

मनसुन सक्रिय, असार १६ र १७ गते देशभर भारी वर्षाको सम्भावना

ई आर्थिक    आइतबार, असार १४ २०८३
646
Shares
मनसुन सक्रिय, असार १६ र १७ गते देशभर भारी वर्षाको सम्भावना

काठमाडौं ।  मुलुकमा मनसुन क्रमशः सक्रिय बन्दै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि मुसलधारे वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको र त्यसकै प्रभावले मनसुन देशका बाँकी क्षेत्रमा पनि थप फैलिने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने तथा ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि सजग रहन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij