काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज साँझ हुने भएको छ।
महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न शपथ ग्रहण कार्यक्रम तय गरिएको हो।
पार्टीको निर्वाचन समितिका अनुसार शपथ ग्रहण समारोह आज साँझ ६ः३० बजे महाधिवेशन स्थलको मुख्य हलमा आयोजना हुनेछ।

कार्यक्रममा नवनिर्वाचित सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, सचिव, कोषाध्यक्ष तथा सम्पूर्ण केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।
शपथ ग्रहणसँगै पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछ।
पदाधिकारी चयन मतदान सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको मतदान शुक्रबार सम्पन्न भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्म समय तोकेको थियो। निर्धारित समय पुगेपछि मतदान स्थलको प्रवेशद्वार बन्द गरिए पनि त्यसअघि भित्र प्रवेश गरेका प्रतिनिधिहरूलाई मतदान गर्न दिइएको थियो।
आयोगका अनुसार पदाधिकारी चयनका लागि करिब १२ देखि १३ सय मत खसेका छन्। ८० वटा विद्युतीय मतदान मेसिनबाट तथ्यांक संकलन गर्न केही समय लाग्ने भएकाले तत्काल यकिन मतसंख्या सार्वजनिक गर्न नसकिने आयोगको भनाइ छ।
मतगणनापछि करिब डेढ घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ। नतिजा घोषणा लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ।
महाधिवेशन आयोजक समितिका अनुसार शपथ ग्रहण समारोह शुक्रबार साँझ ६ः३० बजे महाधिवेशन स्थलको मुख्य हलमा हुनेछ। कार्यक्रममा निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।